काठमाडौं, २७ मंसिर–शनिबारयता कोरोना संक्रमणका कारण नेपालमा १०७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो समय संक्रमितको संख्या घटे पनि मृत्युको दर भने बढेको छ ।
गत शुक्रबारसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या एकहजार ५ सय ६७ थियो भने यो साता १०७ जना बढेर एक हजार ६ सय ७४ जना पुगेको छ ।
त्यस्तै, पीसीआर परीक्षणको संख्यासमेत घटेको छ । नोभेम्बर महिनासम्म १० हजारको हाराहारीमा गरिने पीसीआर परीक्षण डिसेम्बरयता दैनिक न्यूनतम पाँचदेखि सात हजारको संख्यामा मात्रै गरिएको मन्त्रालयको तथांकले देखाएको छ ।
पछिल्लो साता निको हुनेको संख्या निकै न्यून देखिएको छ । गत शुक्रबारसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ थियो भने यो बिहीबारसम्म २ लाख ३१ हजार ६ सय १ पुगेको छ अर्थात् एक हप्तामा जम्मा ३ हजार ७ सय ५४ जना मात्रै निको भएका छन् ।
यो साता सक्रिय संक्रमितको संख्या बढेको देखिन्छ गत शुक्रबारसम्म १५ हजार ४ सय ४७ जना आइसोलेसनमा थिए भने यो साता घटेर १२ हजार ३ सय ८६ जना छन् । अर्थात् नेपालमा अझै पनि १२ हजार ३ सय ८६ जना कोरोनाका सक्रिय संक्रमित उपचाररत छन् ।
त्यसमा सबैभन्दा बढी ७ हजार २ जना वागमती प्रदेशमा छन् । जसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै अहिले सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ७४ छ । त्यस्तै लुम्बिनी प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ५४, गण्डकीमा १ हजार ३ सय १८, प्रदेश १ मा १ हजार १ सय ८७ सुदूरपश्चिम प्रदेशमा १ हजार ५७, प्रदेश २ मा १ सय ५८ र कर्णाली प्रदेशमा सबैभन्दा कम १ सय १० जना रहेको छ ।
जनसंख्याका आधारमा नेपालमा महिलाको संख्या धेरै भए पनि कोरोनाबाट संक्रमित हुनेमा भने पुरुष बढी छन् । महिलाको तुलनामा पुरुष संक्रमितको संख्या झन्डै दोब्बर छ । बिहीबारसम्म कुल २ लाख ४५ हजार ६ सय ५० जना संक्रमित हुँदा पुरुषको संख्या १ लाख ६० हजार ६ सय ६६ छ भने महिलाको संख्या ८४ हजार ९ सय ८४ रहेको छ ।
