सल्यान, २७ मंसिर–जिल्लामा उत्पादित टिमुरले बजार नपाएपछि व्यावसायिक खेती गरिरहेका कृषक निराश हुन थालेका छन् । टिमुरले मूल्य नपाएपछि विगतका वर्षमा कात्तिक–मङ्सिरमै टिमुर बिक्री गरिसक्ने जिल्लामा यस वर्ष उत्पादित टिमुर किसानका घरमै थन्किएको छ ।

टिमुर खरिदका लागि व्यापारी घरघरमै आउने गरेको भए पनि यो वर्ष अहिलेसम्म व्यापारी नआएको किसानको भनाइ छ । आफूहरुले उत्पादन गरेको टिमुरले बजार नपाएपछि टिपेर घरमै राखेको छत्रेश्वरी गाउँपालिका– ५ महानेटाका कृषक मोहन केसीले बताए । “पोहर साल यतिबेला हामीले ७०० रुपैयाँ प्रतिकिलोसम्ममा टिमुर बिक्री गरेका थियौँ, अहिले टिपेर घरमै राखेका छौं बिक्री भएको छैन”, उनले भने । गएको वर्षमा आफूले तीन लाखभन्दा धेरैको टिमुर बिक्री गरेको उनको भनाइ छ ।

गत वर्ष टिमुरले राम्रो मूल्य पाएको भए पनि यो वर्षमा ३०० रुपैयाँ प्रतिकिलो बिक्री हुन गाह्रो भएको टिमुर उत्पादक किसान लोकबहादुर डाँगीले बताए । “मैले गहुँ, मकै रोप्ने बारीमा टिमुरखेती गरेको छु, टिमुरका ५०० बोटले उत्पादन दिइरहेका छन्, टिमुर बिक्रीबाटै गुजारा चलाउँदै आएको थिएँ, यस वर्ष टिमुर बिक्री नहुँदा समस्या भएको छ”, डाँगीले भने। विगतका वर्षमा सल्यान जिल्लाको टिमुर फ्रान्समा समेत निर्यात भएको भए पनि यो वर्ष बिक्री नभएको बनगाड कुपिण्डे नगरपालिका–९ का कृषक चक्रबहादुर डाँगीले बताए ।

जिल्लाको लेखपोखरा, दमाचौरमा उत्पादित टिमुर बिक्री भएको छैन भने निगालचुँला, कुपिण्डे दहलगायतका क्षेत्रमा उत्पादित टिमुरले पनि राम्रो बजार मुख्य पाउन सकेको छैन । टिमुर खरिदका लागि व्यापारी नआएपछि टिमुर घरमा नै थन्किएको किसानको गुनासो छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *