गौरादह, २७ मंसिर–झापाको गौरादह र कमलको सिमानामा पर्ने लालपानी (किस्ने) खोलामा पक्की पुलको शिलान्यास गरिएको छ । गौरादह -१ र कमल -२ देवीचौन जोडिने सो खोलामा आज एक कार्यक्रममा गरि प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्की र संविधानसभाका सदस्य दिपक कार्कीले संयुक्त रुपमा पुलको शिलान्यास गरे ।
पुल शिलान्यासका क्रममा मन्त्री कार्कीले कमल र गौरादहका बासिन्दाहरुलाई पुल निर्माणले सुविधा पुग्ने वताए । पुल निर्माण समयमा सम्पन्न गर्न निर्देशन दिदै उनले प्रदेश सरकारबाट पुल निर्माणमा बजेटको अभाव हुन नदिने समेत प्रतिवद्धता जनाए ।
पुल शिलान्यास कार्यक्रममा कमल गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्लेले पुलको निर्माण पश्चात कमल र गौरादहका बासिन्दाले खेप्नुपरेको सास्तीको अन्त्य हुनुका साथै दुवै पालिकाको आर्थिक विकासमा टेवा पुग्ने बताईन् ।
प्रदेश सरकारको रु ५ करोड १४ लाख ७९ हजार रुपैंयाको लागतमा ४०.८७ मिटर लम्बाई लामो हुने छ । २०७९ असार २० गतेसम्म पुल निर्माण कार्य पूरा हुने गरि काम थालिएको भौतिक पूर्वाधार विकास कार्यालय भद्रपुरका प्रमुख रमेश कुमार श्रेष्ठले बताए । पुल निर्माणको जिम्मा रौताहा-आशिशदिप-राज जेभी भद्रपुरले पाएको छ ।
शिलन्यास कार्यक्रममा गौरादह नगरपालिकाकी उपप्रमुख गिता भेट्वाल , कमल गाँउपालिका उपाध्यक्ष वेणुप्रसाद शिवाकोटी लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि र स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
