गौरादह ,२८ मंसिर–झापाको गौरादहमा जनसहभागितामा निर्मित ट्राफिक प्रहरी पोष्ट भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको आज एक कार्यक्रमकाबीच प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र नगर प्रमुख रोहित कुमार साहले संयुक्त रूपमा उद्घाटन गरे ।
भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री कार्कीले गौरादहको अस्थायी ट्राफिक पोष्टलाई स्थायी बनाई थप प्रहरीको दरबन्दी थपका लागी आवश्यक पहल गरिसकिएको बताए ।
भवनको उद्घाटनसंगै नवनिर्मित भवन जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई हस्तान्तरण समेत गरिएको निर्माण समितिका अध्यक्ष गणेश श्रेष्ठले वताए । करिब ३ बर्ष अघि सो भवन निर्माण शुरु भएको थियो ।
भवन वनाउन अध्यक्ष श्रेष्ठका पिता रत्नबहादुर श्रेष्ठले ४९५ बर्ग मिटर क्षेत्रफल जग्गा निशुल्क उपलव्ध गराएका थिए । त्यस जग्गामा दातासहित प्रदेश सरकार र स्थानीय बासिन्दाहरुको सहयोगमा गणेश पाञ्चायन मन्दिर सहित ४ कोठे पक्की भवन निर्माण गरिएको गौरादहका ट्राफिक प्रहरी प्रमुख शंकर प्रसाद यादबले जानकारी दिए ।
भवन निर्माणमा प्रदेश १ सरकारको रु ११ लाख , नगरपालिका तथा स्थानीयहरुको सहयोग गरि कुल रु ३४ लाख ११ हजार लागत रहेको जनाईएको छ ।
त्यस अवसरमा जग्गादाता श्रेष्ठसहित भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा गौरादह नगरपालिकाप्रमुख रोहित कुमार साह, नगर उप–प्रमुख गिता भेटवाल , प्रदेश न १ ट्राफिक प्रहरी प्रमुख सन्जिब शर्मा दास, जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रकाश जबेगु जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइराला, ईलाका प्रहरी कार्यालय गौरादहका प्रमुख नारायण कुँवर, गौरीगञ्ज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियोे ।
