झापा, २८ मंसिर–झापाको दमकका ५ सहित झापामा पछिल्लो २४ घण्टामा १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आज ११ जना महिला र ६ जना पुरुष थपिएका हुन् । योसहित झापामा कोरोना संक्रमितको संख्या ४ हजार ३१७ जना पुगेको छ ।
झापामा मृत्यु हुनेको संख्या १२३ जना पुगेको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमितमध्ये ३ हजार ४९१ जना निको भएका छन् भने ७०३ जना सक्रिय संक्रमित रहेका छन् ।
आज थपिएका कोरोना संक्रमितमा दमक र विर्तामोडका ५–५ जना, गौरादहका ३ जना कमल, शिवसताक्षी, मेचीनगर र गौरीगञ्जका १–१ जना रहेका छन् । संक्रमित सबै स्थानीय समुदायका रहेको बताइएको छ ।
देशभर ८३० कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा थप ८३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ । पछिल्लो २४ घण्टामा थप १५०० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३५ हजार७३१ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६९८ पुगेको छ ।
