काठमाडौं, २९ मंसिर–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) सँग केपी शर्मा ओलीले प्रधानमन्त्री पद साटेको आरोप लगाएका छन् ।

जनताको बहुदलीय जनवाद छाड्ने व्यक्ति केपी शर्मा ओली भएको बताउँदै नेता नेपालले भने, ‘प्रचण्डजीसँग प्रधानमन्त्री पद पाउनका लागि जनताको बहुदलीय जनवाद छोड्ने व्यक्ति इतिहासमा दर्ज गर्नुपर्ने हो भने केपी शर्मा ओलीजी नै हो ।’ पूर्व प्रधानमन्त्री नेपालले त्यसको प्रमाण आफूसँग भएको समेत दावी गरेका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’ मा कुराकानी गर्दै नेता नेपालले पार्टीमा ओलीले नेतृत्व हस्तान्तरणको विषय उठाए पनि त्यसलाई विश्वास गर्ने आधार नभएको औंल्याए । अहिले ओलीकै कारण पार्टीमा समस्या आएको पनि उनले बताएका छन् ।

ओली र उनी निकटका व्यक्तिहरुमा मै सर्बेसर्बा भन्ने अहंकार र अरुलाई अपमान गर्ने प्रवृत्ति रहेको आरोप लगाउँदै नेता नेपालले भने, ‘झूठका पुलिन्दा गर्न सिपालु, सबै कूकर्म गर्न सिपालु, उहाँ र उहाँसँग लागेका मान्छे संस्कारहीन मानिसहरु छन् ।

असंस्कारी, कुसंस्कारी भन्न सकिन्छ । त्यसमा धैर्यता छैन, संयम् छैन, आत्मालोचना दृष्टिकोण छैन, जनताका गुनासा, आलोचना असन्तुष्टि सुन्ने धैर्यता छैन । मै सबैथोक जान्ने सर्बेसर्बा भन्ने अहंकार छ । अरुलाई अपमान गर्ने प्रवृत्ति छ । अरुलाई मानमर्दन गर्दा रमाउने प्रवृत्ति छ ।’

ओलीले आफू जनताबाट प्रधानमन्त्री र अध्यक्ष निर्वाचित भएको भनेर असत्य कुरा गरेको पनि नेता नेपालले बताएका छन् । ‘म अध्यक्ष निर्वाचित भएर आएको भनेर भनेको सुन्नु हुन्छ तपाईं, म प्रधानमन्त्री जनताले मलाई निर्वाचित गरेर आएको भन्ने सुन्नु हुन्छ तपाईं । यी सबै तथ्यपूर्ण छन् कुराहरु रु होइन,’ नेपालले भने ‘जनताले सबै व्यक्तिलाई जिताएको हो । पार्टीले प्रधानमन्त्री बनाएको हो । पार्टीको संसदीय दलले प्रधानमन्त्री चुनेर नेता तय गरेको हो र त्यो प्रस्ताव गर्नेमध्ये म पनि हुँ एउटा । त्यो त सम्झिनु पर्‍यो नि ।’

आफूले चाहेको व्यक्ति नियुक्त गर्न नपाउँदा सरकारको काममा असर परेको भन्ने ओलीको भनाइबारे राखिएको जिज्ञासामा नेता नेपालले ओलीले छाडा ट्वीट गर्ने व्यक्तिहरु नियुक्त गरेको आरोप लगाएका छन् । ‘छाडा ट्वीट लेख्ने व्यक्तिहरुको नियुक्ति भएको छ । यी एकएक व्यक्तिहरुको सबैको कुकर्म गरेकाहरुको मसँग प्रमाण छ ।’

ओलीले मुख्यमन्त्री र मन्त्री नियुक्ति गर्दा पनि विभेद गरिएको आरोप पनि नेता नेपालले लगाए । ‘युवराज ज्ञवाली अगाडि हो कि शंकर पोखरेल अगाडि हुन्छ ? अष्टलक्ष्मी शाक्य अगाडि कि डोरमणि अगाडि ? भीम आचार्य अगाडि कि शेरधन राई अगाडि हुन्छ ?’ नेपालले भने, ‘उहाँहरु किन फिट हुनुभएन ” उहाँहरुको ब्लड टेस्ट गरिएछ, खकार टेष्ट भएछ, डिएनए टेस्ट गरियो । सबै माधव नेपालसँग मिल्यो, केपी ओलीसँग मिलेन ।’

नेता नेपालले ओलीलाई पार्टीका अधिकांश मान्छेहरुको विश्वास जित्न र सरकार चलाउन सुझाव समेत दिए । माधव नेपाललाई विगतमा पार्टीका दुई अध्यक्षले पाखा लगाएको सन्दर्भमा राखिएको जिज्ञासामा नेता नेपालले त्यसमा प्रचण्डको दोष नभएको बताए । तर दुईटा अध्यक्षबीचको सहमति नै पार्टीको सहमति नहुने उनले बताए ।

नेता नेपालले भने, ‘के यो दुईटा अध्यक्षको प्राइभेट लिमिटेड कम्पनी हो ? या पूर्व एमाले भनेको हाम्रो केपी शर्मा ओलीजीको प्राइभेट लिमिटेड कम्पनी हो ?’

नेता नेपालले ओलीले नै निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न लगाएको आरोप समेत लगाएका छन् । तर त्यो धम्कीको लागि मात्रै भएको बताउँदै नेपालले ओलीलाई पार्टीको माया भए नेकपा छोडेर एमालेमा नजाने बताएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *