विराटनगर, ३० मंसिर–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल समूहको युवा भेलामा पार्टी अध्यक्ष एबम् प्रधानमन्त्री केपी ओलीविरुद्ध मुर्दावादको नारा लागेको छ ।

प्रदेश १ को राजधानी विराटनगरमा मंगलबार भएको भेलामा केपी ओलीविरुद्ध मुर्दावादको नारा लागेको हो । यही समूहका विद्यार्थीको प्रदेशस्तरीय भनिएको भेला ओलीकै गृहनगर झापाको दमकमा सम्पन्न भएलगत्तै विराटनगरमा युवा भेला आयोजना गरिएको हो ।

ओली समूहका युवाको भेला पुस २७ गते मोरङको सुन्दरहरैंचाको गछियामा सम्पन्न भएको थियो । त्यहाँ सहभागीले ओलीको पक्षमा जिन्दावादको नारा लगाएका थिए ।

पार्टी एकता धरापमा पार्दै अस्थिरता सिर्जना गरेको भन्दै कार्यक्रममा सभागी नेताले केपी ओलीको चर्को आलोचना गरे । प्रदेश सांसद कुलप्रसाद साम्बाले कोरोनाले जनजीवन नै थिलथिलो भएको अवस्थामा पनि जनताले सर्वसुलभ रुपमा उपचार पाउन नससकेको भन्दै सरकारको आलोचना गरे । उनले भने, ‘सर्वस्व सकेर अस्पतालबाट लास उठाउने पैसा नहुँदा पनि सरकारले जनताको पीरमर्का बुझ्‍न सकेन ।’ उनले जनताको हितमा काम गर्न नसक्दा नेकपा प्रति नै जनतामा निरासा उत्पन्न भएको बताए ।

नेकपाका प्रदेश सदस्य महेश रेग्मीले अर्काको कुरा नसुन्ने, आलोचना नसहने, आफूलाई देउता ठान्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउँदै भने, “नेकपालाई सरकारमा नेतृत्व गर्नेहरुले मण्डलले जस्तो बनाएका छन् ।” राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ९दीपशिखा० ले सरकारले ल्याएको अध्यादेशविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिए ।

नेकपा मोरङका सचिव गणेश उप्रेती ९सुशील० ले ओलीको विरुद्धमा मुर्दावादको नारा लगाउनु ठीक नभएको बताए । उनले व्यक्ति नभएर पार्टी नै सर्वोपरी भएको दृष्टान्त पेस गरे । नेकपा मोरङका अध्यक्ष ऋषि पोखरेलले कम्युनिस्ट पार्टीभित्र व्यक्ति विशेषलाई जिन्दावादले सम्मान र मुर्दावादले घृणा गर्न नहुने बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *