काठमाडौं, २ पौष–श्रीराम सुगर मिलले तीनदिनभित्र किसानको सबै बक्यौता भुक्तानी गरिसक्ने प्रतिवद्धता जनाएको छ । चिनी उद्योगी संघका अध्यक्ष रहेका शशिकान्त अग्रवालले श्रीराम सुगर मिलले १-२ दिनभित्र सबै बक्यौता तिरिसक्ने प्रतिबद्धता जनाएको बताए । कम्पनीले कुनै स्रोतबाट रकमको व्यवस्था गरिसकेको र आजबाट चेक काट्न थाल्ने उनले बताए ।

अग्रवालले किसानलाई रकम भुक्तान गर्न ढिलाइ हुनु किसानमाथि अत्याचार भएको पनि बताए । एउटाले गर्दा सबै चिनी उद्योगको बदनाम भएको पनि उनले बताए ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको आन्दोलन र चिनी उद्योगीले बक्यौता नदिएको विषयमा छलफल गरेको छ । समितिले उद्योग मन्त्री लेखराज भट्टसहित मन्त्रालयका सचिव एवं चिनी उद्योग संघका अध्यक्षसँग छलफल गरिरहेको छ । समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले १ वर्षमा ७५ करोड बक्यौता भुक्तानी भएको बताए ।

२०७६ पुस १८ सम्म १४ उद्योगको १४० करोड बक्यौता रहेकामा २०७७ मंसिर ९ सम्म ६५ करोड बाँकी रहेको उनले समितिलाई जानकारी गराए । उनले किसानलाई बक्यौता दिन बाँकी रहेको अन्नपूर्ण र इन्दिरा सुगर मिल्सलाई विद्युतको पैसा नदिन भनिएको पनि बताए ।

मन्त्री भट्टले संसदीय समितिको बैठकमा पनि श्रीराम सुगर मिलले २–३ दिनभित्र रकम भुक्तानी गरिसक्ने बताए । उनले आजै पनि मन्त्रालयमा उद्योगीसँग छलफलको समय तय भइसकेको जानकारी गराए ।

“उहाँहरुले २-३ दिनभित्रमा रकम तिर्छु भन्नुभएको छ,” उनले भने, “आजै २ बजे मन्त्रालयमा थप छलफल हुँदैछ ।”

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *