पर्सा, २ पौष–पर्साको वन क्षेत्र नजिकका स्थानीय र सवैया साझेदारी वन क्षेत्रका वन्यजन्तुबीच द्वन्द्व हुने गरेको छ। वन पैदावारको दोहनका लागि वनजंगल जाने वासिन्दा र आहाराका लागि बस्ती छिर्ने वन्यजन्तुको आ–आफ्नै स्वार्थले दुवैबीच द्वन्द्व हुने गरेको हो।

साझेदारी वन क्षेत्रमा तारबार नलगाएकोले आहारा खोज्दै बस्ती छिर्ने वन्यजन्तु र वन पैदावार चोरी तस्करी गर्ने मानवहरु एक अर्काको द्वन्द्वमा बढी फस्ने गरेको खुलेको छ। सञ्‍चारिका समूहले हरियो वन कार्यक्रमअन्‍तर्गत पर्सामा ‘वातावरणीय संरक्षण तथा लैगिंकता र सामाजिक समावेशिकरण’ विषयक अभिमूखीकरण गरेको कार्यक्रममा सरोकारवालाहरुबाट यस्तो खुलासा भएको हो।

एक अर्काको प्रभावक्षेत्रमा द्वन्द्व

स्थानीयले गाईवस्तु लगेर स्वच्छन्द जंगलमा चराउने, घाँस काट्ने, काठदाउरा चोरी पैठारी गर्ने काम निरन्तर गरिहेकै छन्। सो क्रममा वन क्षेत्रमा भएका जंगली जनावरबाट समय समयमा आक्रमण हुने र तिनीहरु बस्तीमा छिर्दा मानिसले उनीहरुलाई आक्रमण गर्ने दोहोरो क्रम चल्ने गरेको छ।

यसको अतिरिक्त वन्यजन्तुले बालीनाली र घरमै प्रवेश गरी क्षति पुर्‍याउने गरेको स्थानीयले स्वीकार गरे।

आहाराको खोजीमा बस्ती छिरेका जंगली जनावरले कहिलेकाहीँ मानिसले पकाएको खानासमेत खाइदिने गरेको पर्सागढी नगरपालिकी कार्यपालिका सदस्य शान्ती भुजेलले बताइन्। हरियाली समूहका सुनिता ढकालले वन जंगलबाट काठ दाउरा चोरी तस्करी गरी बेच्ने र त्यही पैसाबाट जाड रक्सी खाई महिला हिंसा बढाउने घटना पनि जंगल क्षेत्र नजिकका केही मानिसले गर्ने गरेको बताइन्।

मानिस नै बढी दोषी

मानव र वन्यजन्तुका बीचको द्वन्द्व कम गर्न मानव नै अग्रसर हुनुपर्ने पर्सागढी नगरपालिकाका नगरप्रमुख लोकनारायण यादवले बताए। दुवै पक्षको द्वन्द्व कम गर्न वन र वन्यजन्तुको संरक्षण र आफ्नो पनि संरक्षणका लागि जंगल क्षेत्रमा तारबार र मानिसकै सजगता प्रमुख हुने उनको तर्क छ।

यसो गरे वन जंगलको पनि संरक्षण हुने र बाली नालीको पनि संरक्षक उनले बताए। अरूको प्रभाव क्षेत्रमा दुवै नपुग्ने वातावरण सृजना गरी मानव र वन्यजन्तु बीचको द्वन्द्व कम गर्नुपर्छ।

यसको लागि नगरपालिकाले गर्न पर्ने सबै प्रयास आफूले गर्ने उनले दावी गरे। ‘वन जंगल हाम्रै लागि भएकोले हामीले नै यसको संरक्षण गर्नुपर्छ’ उनले भने।

मानिसलाई चाहिने स्वच्छ हावापानी, काठदाउरा लगायतको वस्तु वन जंगलबाट नै पाइने हुँदा यसको संरक्षणसँगै जंगली जनावरको संरक्षण गर्नुपर्ने कर्तव्य पनि मानिसकै भएको नगरप्रुख यादवको भनाइ छ।

३ हजार १८८ हेक्टरमा सवैया वन

पर्सा जिल्लामा रहेको ११ हजार ५ सय ७५ हेक्टर वन क्षेत्रमध्ये ३ हजार १ सय ८८ हेक्टर वन क्षेत्रफल सवैया साझेदारी वनअन्तर्गत पर्छ। जसमा वीरगञ्ज महानगरपालिकाका २८ वटा वडा र पर्सागढी नगरपालिकाका २ वटा वडाका वासिन्दा यो वन क्षेत्रका वास्तविक उपभोक्ता छन्।

साझेदारी र वन कार्यालयको गस्ती टोलीले पनि समय समयमा गस्ती गरेर चोरी तस्कारी नियन्त्रण गर्ने प्रयास गर्दा स्थानीयले प्रर्याप्त सहयोग नगरेको आरोप लगाइएको छ।

पर्सा राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएकोले साझेदारी वनमा पनि प्रसस्त वन्यजन्तु हुने गरेको वनका कर्मचारी बताउँछन्।

कर्मचारी प्रशासनले वन क्षेत्रमा जान कडाइ गर्दा नराम्रो मान्न नहुने पर्सागढी नगरपालिका(४ का वडाध्यक्ष समसोद्दिन साह देवान बताए। वनमा तारबार छैन। जति सम्झाउँदा पनि तस्करी गर्न पल्केका मानिस मान्दैनन्, चोरी कटानी गर्छन्। कतिपयले पेसा नै त्यही बनाएका छन्।’

यसले गर्दा वन जंगलको संरक्षण हुन सक्दैन उनले भने। सवैया साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष लखनलाल साहले आफनो क्षमताअनुसार समूहले काम गरिहरेको र स्थानीय सरकारले थप सहयोग गर्नुपर्ने माग गरे।

वातावरण संरक्षण तथा वन्यजन्तु संरक्षण, लैंगिक तथा सामाजिक समावेशीकरण र नागरिक सचेतनाका बारेमा रामलक्षन प्रसाद यादव, कविता खड्का र शिवनाथ प्रसाद यादवले प्रकाश पारेका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *