दमक, २ पुस–झापाको दमकमा गत बैशाख १० गते पहिलोपटक एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । उनी नेपालको ४९ औं कोरोना संक्रमित संगै झापाकै पहिलो संक्रमित थिए । विदेशबाट फर्किएका आफना छोरा घरमा आएपछि उनमा संक्रमण पुष्टि भएको थियो ।

विराटनगरको कोशी अस्पताल कोभिड उपचार केन्द्रमा दश दिन लामो उपचारपछि अहिले उनी स्वस्थ जिवन बिताउदैआएका छन् ।

त्यसयता दमकमा निरन्तर कोरोना संक्रमण फैलिँदै गयो । पहिलो संक्रमण भेटिएको ठिक ६ महिना अर्थात गत असोज १० मा पहिलो पटक दमककी कोरोना संक्रमित एक महिलाको कोशी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

८ महिना वित्दा दमकमा कोरोना संक्रमित हुनेको संख्या १ हजार १४१ पुगेको छ । दमकका ६७९ पुरुष र ४६२ महिलामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । ती मध्ये १ हजार ४८ जना कोरोना संक्रमणबाट मुक्त भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

दमकमा संक्रमित हुनेमा सर्वसाधारणदेखि नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहित अधिकांश जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीहरु छन् । संक्रमित हुनेमा दमकका १० वटामध्ये तीन जना वडाध्यक्ष रहेका छन् ।

एक साताअघि मात्रै कोरोना संक्रमणबाट मुक्त भएका दमक ८ का वडा सदस्य एवं दमक जेसीजका पूर्व अध्यक्ष भिमराज चौलागाइँ कोरोना संक्रमणबाट एक महिना पछि भर्खरै मुक्त भएपनि संक्रमणको भोगाई निक्कै कष्टकर भएको अनुभव सुनाउछन् । चौलागाइँ भन्छन् –‘ संक्रमणको अवधि निकै लामो भयो, हतोत्साहित नभई कोरोनाको सामना गरेंर संक्रमण मुक्त भए ।’

कोरोना संक्रमणबाट सबैभन्दा ठुलो कुरा साबधानी अपनाउनु नै भएको वताउदै उनले आत्मबल बलियो बनाएर खानपानमा विशेष ध्यान दिनसके कोरोना जित्न सकिने अनुभव सुनाउँछन् ।

शाखाका कुबेर भट्टराईका अनुसार संक्रमित मध्ये हालसम्म ३५ जनाको मृत्यु भएको छ भने २३ महिला सहित ५८ जना हाल उपचाररत छन् । यो मृत्यु संख्या जिल्लाका १५ वटा पालिका मध्ये सवैभन्दा धेरै हो । नगरपालिकाले हाल कोरोना संक्रमणका शकांस्पद विरामीको कोरोना परीक्षण निशुल्क गर्दै आएको छ ।

कोभिड उपचार केन्द्रले बनायो सहज
नगरपालिकाले पछिल्लो समय दमक अस्पताल अन्तर्गत रहने गरी बेलडाँगीमा कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा ल्याएपछि नगरबासीहरुले सहज महषुस गरेका छन् । सो केन्द्रमा हालसम्म ३४ जना संक्रमित उपचारका लागि भर्ना भएकामा २६ जना निको भएर डिस्चार्ज भएका छन् ।

त्यहाँ भर्ना भएका मध्ये एक जनाको सो अस्पताल पुरयाँउने वित्तिकै मृत्युभएको र अन्य पाँच जना अहिले पनि उपचाररत रहेका नगरपालिकाकी प्रवक्ता समेत रहेकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् ।

संक्रमितहरुले उपचारका लागि अस्पतालहरुमा ठाउँ पाउनै मुस्किल भएपछि संघीय सरकारले सबै स्थानीय तहलाई कोभिड अस्पताल सञ्चालन गर्न निर्देशन गरेको थियो । सोही अनुसार सञ्चालनमा आएको सो अस्पताल स्थापनासंगै सर्वसाधारणले राहत महषुस गरेका हुन् । त्यहाँ ४ बेडको एचडीयू सेवासहित ३० बेड उपलब्ध छ ।

सो केन्द्रमा साताको एकपटक हरेक मंगलबार सर्वसाधारणको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिँदै आएको छ । नगरपालिकाकी उपप्रमुख अधिकारी कोरोना संक्रमण फैलिन नदिन स्थानीय सरकारले गरेको प्रयासमा आम नगरबासीहरुबाट भइरहेको सकारात्मक सहयोग, चिकित्सक तथा स्वास्थ्यकर्मी, कर्मचारीहरु लगायत सबैपक्षबाट भएको योगदान प्रशंसनीय रहेको बताउँदै अझै पनि सावधानीको खाँचो औंल्याईन् ।

दमकमा कोभिड उपचार केन्द्र स्थापना गरिनु अघिदेखिनै आम्दा अस्पतालले जारी राखेको कोरोना संक्रमितको उपचारमा गर्देआएको छ । अस्पतालका मेडिकल सुरपरिटेण्डेन्ड डाक्टर प्रकाश शर्मा कोभिडका विरामीलाई लक्षित गरि आम्दा अस्पतालले नियतित रुपमा उपचार सेवा प्रदान गरिआएको वताउँछन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *