दमक, ३ पुस–सत्तारुढ नेकपा भित्र बैचारिक समूह गठन गर्ने क्रमले झापामा तिब्रता पाएको छ । नेकपा भित्र विभिन्न प्रतिष्ठान तथा फाउण्डेशनहरुका नाममा कुनै पनि गतिबिधि नगर्ने पार्टी केन्द्रको निर्णय विपरित धमाधम गुट उपगुटका भेला गरि समूह वनाउने कार्य हुन थालेका छन् ।
पछिल्ला दिनमा दमकमा मदन भण्डारी फाउण्डेशन गठन भएको थियो भने हालै मदन भण्डारी स्पोर्टस एकाडमी गठन गरिएका छन् । सो लगत्तै आज विर्तामोडमा भएको पार्टी कार्यकर्ताहरुको भेलाले मणी भण्डारीको अध्यक्षतामा भानु दंगाल सचिव रहेको ८५ सदस्यीय पुष्पलाल मित्रता केन्द्र झापा गठन गरेका हुन् ।
अध्यक्ष भण्डारीका अनुसार जिल्ला समितिको आगामी बैठकले अन्य पदाधिकारीहरु चयन गर्ने तथा जिम्मेवारी बाँडफाँड गर्दै पुष्पलालको विचारलाई कार्यकर्ताहरुमाझ प्रवाह गर्ने निर्णय भएको छ ।
पार्टीका संस्थापक नेता स्व। पुष्पलाल श्रेष्ठको विचारलाई अघि बढाउन केन्द्र गठनको मूल उद्धेश्य भएको उनले वताए । उनले पार्टी भित्र पुष्पलालको विचारलाई अघि बढाउन र यसमा नेकपाकै कार्यकर्ताहरु आवद्ध हुनु स्वभाविक भएको प्रतिक्रिया दिए ।
आज भएको जिल्लास्तरीय सो भेलामा मित्रता केन्द्रका महासचिव एवं नेकपा केन्द्रीय सदस्य रविन कोइरालाको प्रमुख आतिथ्य रहेको थियो भने केन्द्रका प्रदेश अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य भास्कर काफलेको विशेष आतिथ्य रहेको थियो ।
पार्टी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतको एउटा समूह क्रियाशील छ भने पार्र्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अर्को समूह सक्रिय छ ।
ओलीले एक्लौटी रुपमा सरकार सञ्चालन गरेको तथा पार्टीको विधि प्रकृयालाई वेवास्ता गरिरहेको भन्ने चर्को आरोपका वीच जिल्लातहमा नेता कार्यकर्ताहरु पनि समूह समूहमा बाँढिएका हुन ।
यसअघि, सो पार्टी सम्बद्ध युवा विद्यार्थीहरुका पनि अलग अलग समूहले पूर्वमा आआफनो समर्थकहरुको भेला गरेर गुटगत अभ्यासको शुरुवात गरेका थिए ।
