काठमाण्डौं, ३ पौष–एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधामा महिला खेलाडीको बाहुल्यता रहेको छ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आज सार्वजनिक मनोनयनमा परेका ५ मध्ये ४ महिला खेलाडी छन्। १३ औं सागमा ४ स्वर्ण जितेकी गौरिका सिंह, दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ, भलिबलकी कप्तान अरुणा शाही, बास्केटबलकी कप्तान सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी पिपल्स च्वाइसको मनोनयमा परेका हुन्।
मनोनयनमा परेका खेलाडीको छनोट इ–सेवामार्फत एसएमएम भोटिङ, फेसबुक लाइक, मञ्चका सदस्यको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटका आधारमा हुनेछ।
भोटिङ लाइन शुक्रबारबाट सुरु भई पुस २७ गते राति १२ः०० बजेसम्म खुला रहने बताइएको छ। यसअघि, मोबाइलबाट एसएमएस भोटिङ गरिँदै आएकोमा यसपालि इ–सेवामार्फत गरिने मञ्चले जनाएको छ। भोटिङका लागि इ-सेवाको एप डाउनलोड गरी आफूलाई मनपर्ने खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिने मञ्चले जनाएको छ।
पुस २८ गते आयोजना हुने पल्सर स्पोर्टस अवार्डकै दौरान पिपल्स च्वाइस अवार्डको विजेताको घोषणा गरिनेछ। पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा विभिन्न १० विधामा खेलाडी र खेलकर्मीलाई सम्मान गरिनेछ।
