काठमाडौं, २१ पुस–जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) असफल भएको बताएका छन्।
मंगलबार जनता समाजवादी पार्टी, नेपालले गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्तर्क्रिया कार्यक्रममा ठाकुरले ठूलो बहुमत हुँदाहुँदै पनि राजनीतिक स्थिरता दिन नसकेकाले नेकपा र नेकपाको सरकार नै असफल भएको दाबी गरे। सत्ताधारीहरुले आफ्नो अधिकार सुरक्षित राख्न मात्रै कदम उठाउने गरेको भन्दै ठाकुरले सरकारले अहिले चालेको असंवैधानिक कदम पनि आफूलाई सुरक्षित राख्न गरिएको टिप्पणी गरे।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई नै मरेतुल्य तुल्याएको टिप्पणी गरे। फेरि फेरि पनि सरकारले यस्ता स्वेच्छाचारी कदम चाल्ने हुन् कि भन्ने डर सिर्जना गरिदिएको उनको भनाइ छ।
असंवैधानिक कदमविरुद्ध राजनीतिक शक्तिको ध्रुवीकरणको आवश्यकता रहेको अध्यक्ष यादवले बताए। गैरसंवैधानिक हिसाबले चालेको कदमले संसदको विघटन हुन नसक्ने भन्दै उनले संसदको काम कारबाहीको जिम्मेवारी सभामुखको काँधमा रहेको बताए।
