काठमाडौं, २१ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको र निर्वाचित संसद् भंग गर्नु त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्दै कर्णाली प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले समूह परिवर्तन गरेका छन् । उनी लामो समयदेखि प्रधानमन्त्री ओलीनिकट थिए ।
नेकपा विभाजित भएसँगै उनी नेकपाको बहुमत पक्षतिर लागेका हुन् । बाह्रखरीसँग संक्षिप्त कुराकानी गर्दै उनले कर्णालीको स्थायी सरकारका लागि समूह परिवर्तन गरेको बताए ।
“मूलतः कर्णालीको सरकार अस्थिर नहोस् भनेर मैले समूह परिवर्तन गरेको हुँ,” उनले बाह्रखरीसँग भने, “अब कर्णाली प्रदेशको सरकार दिगो हुन्छ ।” नेकपा विभाजित भएसँगै प्रदेश तहमा ओहोरदोहोर गर्ने क्रमले तीव्रता पाएको छ ।
कर्णाली प्रदेशमा हालसम्म ओली समूहका तीनजनाले समूह परिवर्तन गरेको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । त्यसमध्ये विगतमा पूर्वमाओवादी केन्द्रमा रहेका ठम्मरबहादुर विष्ट र धर्मराज रेग्मी ओली कित्तामा लागेका छन् ।
४० सदस्यीय प्रदेशसभामा ओलीको पक्षमा ११ जना खुलेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पक्षमा २२ जना छन् ।
