काठमाडौं, २२ पुस–पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानभन्दा माथिबाट समग्र व्यवस्थालाई नै ‘कू’ गरेको बताएका छन् ।

बुधबार नेपाल कम्युस्टि पार्टी (नेकपा) ले काठमाडौंमा आयोजना गरेको अन्तरपार्टी अन्तर्क्रियामा भट्टराईले प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ नभई संविधान र व्यवस्थामाथि ‘कू’ गरेको जिकिर गरे । प्रधानमन्त्री ओलीले गरेको ‘कू’ २०१७ सालमा राजा महेन्द्र र २०६०र६१ मा राजा ज्ञानेन्द्रले गरेको ‘कू’ जस्तै भएको उनको भनाइ छ ।

‘‘केपी ओलीको नेतृत्वमा नेपालमा जुन प्रतिगमनकारी घटना घट्यो पुस ५ गते, यो सामान्य होइन । मेरो विचारमा १७ सालमा राजा महेन्द्रले जुन ‘कू’ गरे र ६०/६१ सालमा राजा ज्ञानेन्द्रले जुन ‘कू’ गरे, त्यसैको हाराहारीको यो ‘कू’ हो ।

संवैधानिक ‘कू’ होइन । त्यो त संविधानअन्तर्गत् हुन्छ । संविधानमाथिको कू हो । व्यवस्थामाथिको कू हो । त्यसो हुनाले यसलाई सामान्य अर्थमा लिने गल्ती कसैले पनि नगरौँ,’’ उनले भने ।

प्रधानमन्त्रीले संसद् विघटन गर्ने कदम संवैधानिक हो वा होइन भन्ने विषयमा बहस गर्न र भ्रममा पर्न नहुने पनि भट्टराईले बताए ।

उनले भने, ‘‘नियोजित ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रहार गरेर यसलाई उल्ट्याएर फेरि विभिन्न शक्तिहरुभित्रि र बाहिरी शक्तिहरु छन्, जसले नेपालको परिवर्तन रुचाएका छैनन् । जसले यहाँको अस्थिरतामा खेल्न चाहिराखेका छन्, त्यसको मतियार बनेर केपी शर्मा ओलीले यो कदम चाल्नुभएको हो ।’’

कुनै पनि व्यक्तिले लहडमा प्रतिनिधिसभा विघटन गर्नै नसक्ने समेत उनले बताए । अन्तर्राष्ट्रिय परम्परामा संसद् विघटन गर्ने अभ्यास छ भन्दै नेपालको संसद् विघटन गर्न नपाइने उनले उल्लेख गरे ।

प्रधानमन्त्रीले कुनै पनि बेला संसद् विघटन गर्न सक्ने कुरालाई विचार गरेर संविधानमा नै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्थालाई हटाइएको उनले बताए । अहिलेको अवस्थामा कुनै पनि तरिकाबाट संसद् विघटन हुनै नसक्ने उनको तर्क छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले दुईतिहाइ बहुमतको सरकार चलाउन नसक्ने मान्छेले चुनाव गराउँछ भन्ने भ्रममा नपर्न पनि आग्रह गरे ।

अहिलेको अस्थिरतालाई कायम राख्दै निर्वाचन पनि नहुने, संविधान पनि भंग हुने भयो भने देशमा राष्ट्रिय स्वाधीनतामाथि खतरा आउन सक्ने उनले बताए । प्रतिनिधिसभा पुनःस्थापना हुने विषयमा अदालतको आशा गर्नुपर्ने तर भरपर्न नहुने भट्टराईको भनाइ छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री ओली इमानदार तानाशाह भएको टिप्पणीसमेत गरेका छन् । उनले ओलीले झापा आन्दोलनमा राम्रो काम गरे पनि पछि जेलबाट निस्किएर आएपछि अग्रगमनको विरोधी बनेर आएको बताए ।

आफ्नो प्रवृत्ति नलुकाइकन व्यवस्थामाथि आक्रमण गरिरहेकाले प्रधानमन्त्री ओली इमानदार तानाशाह भएको आरोप भट्टराईले लगाए । चुनावमा जाँदा लाभ हुन्छ भनेर नेपाली कांग्रेस र जसपाले मुख मिठ्याएर बस्न नहुने पनि उनले बताए । पार्टीहरुबीचको संयुक्त आन्दोलन नहुँदासम्म अहिलेको कदमलाई सच्याउन नसकिने उनको धारणा छ ।

कुनै पनि बेला नेकपाका नेताहरु फेरि ओलीसँग मिल्न सक्ने सम्भावना भएकाले संयुक्त आन्दोलनमा जान समस्या रहेको उनले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *