काठमाडौं, २२ पुस–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले देशमा पुरानो व्यवस्थाको पुनस्स्थापना हुन नदिने बताएका छन् ।

नेकपाले बुधबार आयोजना गरेको अन्तर्क्रियामा उनले देशमा संकटकाल लगाउने, अनेकखालका षड्यन्त्र, तानाबाना बुनिएको सुनिरहेको भन्दै यस्ता षड्यन्त्र सफल नहुने बताए । पुरानो व्यवस्थाको पुनःस्थापना हुन्छ भन्नेमा कसैले सपना नदेख्न उनको आग्रह छ । पुरानो व्यवस्थाको पुनस्स्थापना हुने कुनै सम्भावना नरहेको र हुन नदिने उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र शाहजस्तै बिदा हुने बताए । सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको भनाइ छ । वैशाखमा चुनाव नहुने पनि उनले दाबी गरे ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरु सधैंभरी अग्रगमनको पक्षमा रहने बताए । उनले प्रतिगमनको पक्षमा नजाने पनि बताए ।

पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गरेसँगै राजनीतिक दलहरु यसको विरोधमा विभिन्‍न कार्यक्रमहरु गर्दै आएका छन् । अन्तर्क्रियामा विभिन्‍न राजनीतिक दलका नेताहरुले आफ्नो धारणा राखेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *