काठमाडौं, २२ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले संसद विघटन केपी शर्मा ओलीको देशै सिध्याउने कदम भएको टिप्पणी गरेका छन् ।
नेकपा प्रचण्ड–नेपाल पक्षले विभिन्न दलका शीर्ष नेताहरुसँग काठमाडौं बानेश्वरमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले ओलीले संसद विघटन गरी सिङ्गो व्यवस्थाविरुद्ध प्रहार गरेको बताए ।
‘घरमा झगडा भए, घरै सिध्याई दिने । परिवारमा झगडा भए, परिवारै सिध्याई दिने ?’, नेपालले भने । प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्ताको उन्माद रहेको उनले आरोप लगाएका छन् । ‘यो गैरसंवैधानिक कदम सिंगो व्यवस्थाविरुद्ध, संघीयताविरुद्ध, गणतन्त्र र समावेशी समानुपातिक व्यवस्था विरुद्ध हो’, नेपालले भने ।
अध्यक्ष नेपालले तर, ओलीको यस्तो चाहना पूरा हुन नदिने दावी गरे । उनले भने, ‘सुनिन्छ, संकटकाल लगाउने । संकट निम्त्याउँदै जाने । तर, त्यस्तो षड्यन्त्रको सम्भावना कसैले नदेखे हुन्छ ।’ अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको उनले बताए ।
संविधान संशोधन गर्ने ठाउँ भए पनि संघीयता, गणतन्त्र, समावेशिता, समानुपातिक व्यवस्था चलाइन नदिइने नेपालले बताए ।
