विराटनगर, २३ पुस–विराटनगरका कानुन व्यवसायी र पेसाकर्मीले वर्तमान राजनीतिक संकट र त्यसको निकासका लागि संसद् पुनस्स्थापित हुनुपर्नेमा जोड दिएका छन् ।
प्रबुद्ध नागरिक समाजको आयोजनामा विराटनगरमा बिहीबार भएको अन्तर्क्रियामा सहभागी पेसाकर्मीले राजनीतिक संकटले आर्थिक र सामाजिक क्षेत्र नै झन् क्षीण हुने बताए । प्राध्यापक डा। उद्धव पोखरेलले मुलुकले भोगेको विषय र प्रभाव के छ भन्ने नबुझी गरिएको कदम भयवह भएको बताए । उनले कोभिडपछि आर्थिक क्षेत्रमा ठूलो असर असर गरेको भन्दै चुनाव नै हुँदैन, ओली सरकार रहिरहन्छ वा संकटकाल लाग्छ भन्ने आशंका पनि जनतामा व्याप्त रहेको चर्चा गरे । उनले भने, ‘विराटनगरवासीको मनोभाव राजनीतिलाई सही बाटोमा ल्याउन दबाब दिनुपर्छ भन्ने छ । राजनीतिक दलको झगडाले मुलुकको विकास र कार्यदिशा नै संकटमा पार्ने जोखिम लिनुहुन्न ।’
कानुन व्यवसायी हरि बरालले संविधानको धारा ७६ सरकार गठन प्रक्रिया उल्लेख भएको बताउँदै एक दलले नसके दुई वा सोभन्दा बढी दलले सरकार बनाउन प्रस्ताव पेस गर्ने र बहुमत पाए सरकारको नेतृत्व लिने प्रावधान भएको बताए । उनले भने, ‘सरकार गठन चरणबद्ध हुन्छ तर हठात विघटनको व्यवस्था छैन । संसद् विघटन हुन सक्दैन । विश्वासको मत नपाए मात्र विघटन हुन्छ । विपरीत ढंगले प्रधानमन्त्री केपी ओलीले विघटन गर्नुभएको छ । संसद पुनस्स्थापित हुनुपर्छ ।’
अर्थशास्त्री पीके झाले सत्तालिप्सा र व्यक्तिगत लालसाले मुलुकको दुर्गति भएको बताए । कुन अधिकारले विघटन गरेको हो रु भन्ने प्रश्न गर्दै झाले राजनीतिमा नैतिकता नभए मुलुकको विकास निष्क्रिय बन्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीको कदम संविधानविपरीत हो यसलाई स्वीकार गर्न सकिन्न ।’ दातृ निकायले संसद्को आदेशले मात्र विकास गर्न लगानी गर्ने तर अहिले परिस्थितिले आर्थिक अवस्था झन् बिग्रिएर जाने झाले बताए ।
वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले देखादेखि असंवैधानिक कदमका भरमा प्रतिनिधिसभा विघटन गरिएको बताउँदै भने, ‘देशको मूल कानुन मानिएको संविधानलाई नै घाइते बनाउने काम भएको छ ।’ प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको श्रेष्ठले बताए ।
सर्वोच्च अदालतमा संवैधानिक इजलास चले पनि बोल्नै नहुने भन्ने नहुने र संविधान निर्माण प्रक्रियाका क्रममा सार्वभौमसत्ता जनतामा रहेकाले कसैको लहडले मास्न नसक्ने जिकिर गरे । श्रेष्ठले भोलि दुर्घटना नहोस् भनेरै प्रधानमन्त्रीले संविधानमा संसद् विघटनको प्रावधानहरू फेरबदल गरेको सुनाए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता महेश रेग्मी, नेपाली कांग्रेस मोरङका पूर्वसचिव यदु विष्ट, बुद्धिजीवी रामरिझन यादव, कानुन व्यवसायी उमेशचन्द्र न्यौपाने, प्राध्यापक गणेश क्षेत्री, कविराज न्यौपाने, अधिकारकर्मी सोमराज थापालगायतले संसद पुनस्स्थापनामा जोड दिए ।
