दूधे, २३ पुस–झापाको शिवसताक्षी नगरपालिकास्थित दूधे-शिवगञ्ज भित्री सडक खण्डमा मालबहाक ट्रकको ठक्करबाट आज बिहान ११ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ ।
शिवगञ्जबाट दूधेतर्फ आँउदै गरेको मे १ ख ३१९२ नम्बरको ट्रकको ठक्करबाट स्थानीय धनबहादुर राईका ११ वर्षीय छोरा भिम राईको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त सडकखण्ड अन्तर्गत शिवचोकमा साइकलमा सवार बालकलाई ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । झिलझिले ट्राफिक प्रहरी पोष्टका इन्चार्ज गणेश श्रेष्ठ अनुसार मृतक राई साइकलमा सवार थिए ।
दूर्घटना गराउने ट्रक र सोका चालक मेचीनगर वडा नं १० का जीवन लामालाई इलाका प्रहरी कार्यलय झिलझिलेले नियन्त्रणमा लिएको छ । दूर्घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
