झापा, २४ पुस–संविधान सभा विघटनको विरोधमा उत्रिएका नेकपा प्रचण्ड-माधव नेपाल समूहले प्रधानमन्त्रीलाई विरोध पत्र पठाएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी ओलीलाई विरोधपत्रको साथमा संविधानको पुस्तक पनि पठाएका हुन् ।
प्रचण्ड-माधव पक्षको नेकपाले प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा क्षमा याचना गरी गल्ती सच्याउन पनि आग्रह गरेका छन्। प्रचण्ड-माधव नेकपाको समूहले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई पनि विरोधपत्रसँगै संविधान बुझाएका छन्।
नेकपाको समूह जुलुसहित जिल्ला प्रशासन कार्यालय भद्रपुर पुगेको थियो। । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीविरुद्ध संघर्ष चर्काउन नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड– माधव नेपाल समूहले जिल्लामा संघर्ष समिति बनाएको छ ।
संघर्ष समितिका संयोजक रविन कोइराला ,सहसंयोजक धर्मशिला चापागाई र सचिव विजय साम्पाङले विरोध-पत्रमा हस्ताक्षर गरेका थिए । केन्द्रले तय गरेको आन्दोलनबमोजिम जिल्ला तहमा संघर्ष समिति निर्माण भइसकेपछि अब पालिका, वडा र टोल-टोलमा संघर्ष समिति गठन गर्ने संयोजक कोइरालाले बताए । उनले पुष २५ गते जिल्लास्तरीय समितिको बैठक बसेर टोल-टोलसम्म पुगेर संघर्ष समिति बनाउनका लागि कार्यविभाजन गरिने जानकारी दिए ।
संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै नेकपा (दाहाल-नेपाल) समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम पुष १८ गते सार्वजनिक गरेको थियो ।
