काठमाडौं, २५ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले आफैैले हस्ताक्षर गरेको संविधानमाथि बलात्कार गरेको बताएका छन् ।
‘केपी ओली आफैले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भनेर बनाएको संविधानलाई बलात्कार गरेर संसद् भंग गर्नुभयो । उहाँ प्रधानमन्त्री भएदेखि नै तानाशाहको जस्तो प्रबृति देखाउन थाल्नुभयो’, खनालले भने । नेकपा सम्पर्क समन्वय कमिटीको शनिबार काठमाडौँमा भएको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले सो कुरा बताएका हुन् ।
‘प्रधानमन्त्री भएदेखि नै ओलीले अनेक शक्ति केन्द्रहरु आफ्नो मातहत ल्याउनुभयो, राष्ट्रिय अनुसन्धान विभागलाई आफ्नो मातहत ल्याउनुभयो र तानशाह बन्ने प्रयास गर्नुभयो’ नेता खनालको भनाइ छ । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानसभाबाट संविधान बनाएपनि ओलीका कारण समाजवादको लक्ष्यमा सरकार हिँड्न नसकेको बताए ।
पछिल्लो निर्वाचनपछि सरकार बेनपछि केपी ओली प्रधानमन्त्री पद जोगाउनतिर मात्रै लागेको भन्दै समाज परिवर्तनमा कुनै ध्यान नदिएको बताए । आफूहरुले विश्वासका साथ ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाए पनि उनले जनताको सम्मृद्धि आकाँक्षा पुरा नगरी पार्टीलाइै भर्याङ मात्र बनाएको बताए ।
ओली सरकारले दलालपूँजीवादी कार्यक्रम ल्याएको भन्दै एस म्यानलाई सभामुख बनाएर एमसीसी पास गर्ने योजनामा ओली रहेपनि त्यसलाई आफुहरुले सफल हुन नदिएको बताए । संविधानमा हामीले प्रधानमन्त्रीले संसद विगठन गर्ने प्रावधान नै राखेनौँ’, उनले भने, ‘प्रधानमन्त्रीलाई यो अधिकार छैन ।’
उनले संविधानको धारा ७६ र १०० ले संसदभित्र नै वैकल्पिक सरकारका सम्भावना रहुञ्जेल संसद विघठन हुन नहुने र संसद पाँचै वर्ष चल्नुपर्ने प्रवधान राखिएको जानकारी दिए ।
उनले धारा ७६ बनाउने क्रममा छलफलमा घण्टों घण्टा विताएको र यो कुरा हाल प्रधानमन्त्री ओलीका महान्यायाधिवक्ता रहेका अग्नि खरेल र तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई पनि थाहा भएको बताए । उनले नेम्वाङ र खरेलका भनाइहरु अहिले पनि सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको बताए।
‘धारा ७६ फाइनल गर्दा मात्रै हामीले अनेकौँ घण्टा बिताएका छौँ’, उनले भने यो कुरा सुवास नेम्वाङलाई थाहा छैन रु यो कुरा महान्यायाधीवक्ता अग्नि खेरललेलाई थाहा छैन रु थाहा छ, उनीहरुले विभिन्न वक्तव्यमा भनेका छन्, मिडियामा बोलेका छन्। उनीहरुका कमिटमेन्टहरु अहिले पनि भाइरल भइरहेको अवस्था छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका खनालले खरेल नेम्वाङ आफ्नो व्यक्तित्व बिर्सेर ओली जस्तो तानाशाहको जागिरे भएर बसेको आरोप लगाए । ती व्यक्तिहरु आज केपी ओली जस्तो तानशाहका पछाडि एउटा जागिरे जस्तो भएर बसेका छन् । उनीहरुसँग आफ्नो व्यक्तित्व, स्वतन्त्र व्यक्तित्व छैन’, उनले भने, ‘सोचुन् उनीहरुको पनि एउटा व्यक्तित्व थियो, त्यो व्यक्तिलाई स्थापित गरेर सही दिशामा अगाडि बढुन भन्ने हामी चाहन्छौँ ।’
