विराटनगर, २६ पुस–नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई जनतालाई ढाँट्न दहीचिउरा खाएजस्तै भएको बताएकी छन् ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनजस्तो असंवैधानिक कदम चालेको तर कुनै हीनताबोध नभएको बताइन् । विराटनगरमा अनेरास्ववियु मोरङको शपथग्रहण कार्यक्रममा आइबार उनले भनिन्, ‘प्रधानमन्त्रीले जनता ढाँट्नु भनेको दहीचिउरा खाएजस्तै हो ।’ झाँक्रीले हुँदै नभएको अधिकार प्रयोग गरेर सगर्व प्रतिनिधिसभा विघटन गरेको बताइन् ।
‘अहिले पनि तुइन झुन्डिएका छन् । रेल कहाँसम्म आयो ? आएको रेल त तिर्पाल ओढेर बसेको छ,’ झाँक्रीले भनिन्, ‘पानीजहाजको काउन्टर कहाँ छ ? गफ दिने र ढाँट्नेले अहिले मार्क्सवादको भाषण दिएर बसेका छन् ।’ ओलीले बेसार, ल्वाङ, बाइबल आदि धेरै विषयमा आधारहीन गफ दिएर ढाँट्ने गरेको जिकिर गरिन् ।
चुनाव हारेकालाई जिम्मेवारी दिएर परिवार र विचौलियाको घेराबन्दीमा परेर ओली सिंहदरबारसम्म नआएको बरु बालुवाटारबाट शासन चलाएको आरोप लगाइन् । मन्त्री र प्रधानमन्त्रीलाई बहिष्कार गर्नुपर्ने भन्दै उनले धुप बालेर गरिने आन्दोलनले प्रभाव नपर्ने भन्दै कडा आन्दोलन गर्नुपर्नेमा जोड दिइन् ।
‘विद्यार्थीले ढुंगामुढा मात्र गर्दैनन् । विद्यार्थीले आन्दोलनको औचित्य सकिएको छैन । नयाँ भूमिका र चुनौतीहरु साथ विद्यार्थी सडकको मझदारमा आएका छन्,’ झाँक्रीले भनिन्, ‘नैतिक मूल्य मान्यता निर्धारण नहुँदा यस्तै अवस्था रहन्छ । पार्टी फुट्यो फुटेन थाहा छैन । अहिले नेता सूर्य कता पर्छ भनेर भाग खोजेर बसेका छन् ।’
उनले जोखाना हेरेर होइन सही मूल्य गरी कित्ताकाँट गर्नुपर्ने भन्दै उनले नयाँ ढंगले आन्दोलन गर्नुपर्नेमा जोड दिइन् ।
