काठमाडौं, २६ पुस–नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयलाई प्रभावित पार्ने सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेको भन्दै आपत्ति जनाएका छन् ।

आफ्नो व्यक्तिगत मनोकांक्षा सिद्ध गर्न अलोकतान्त्रिक र असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेका ओलीले न्यायालय विघटन गर्न खोजेको टिप्पणी उनको छ ।

नेता पुनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्ने चार पूर्वप्रधानन्यायाधीशलाई धम्की दिएकामा पनि आक्रोश व्यक्त गरे । ओलीले राज्य शक्तिको दुरुपयोग गरेर न्यायालय विघटन गर्न सक्ने भन्दै उनले सचेत रहन न्यायपालिकाको नेतृत्वलाई आग्रह गरे ।

‘‘केपी ओलीले संसद्मा दुईतिहाइ बहुमतसहितको विशाल पार्टी र प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस गर्नुभएको छ । आफूले भनेजस्तो नहुँदा न्यायालयलाई पनि विघटन गर्ने, स्वतन्त्र न्यायालयप्रतिको जनआस्थालाई विघटन गर्ने, न्यायपालिकाप्रतिको विश्वास घटाउने प्रयत्न गरिाख्नुभएको छ,’’ आइतबार राजधानीमा आयोजित कार्यक्रममा पुनले भने, ‘‘न्यायपालिकालाई धम्क्याउने, दबाब दिने र षड्यन्त्र गर्ने गतिविधि जारी छन् । यसमा न्यायमूर्तिहरु सचेत रहनुपर्छ ।’’

ओली र ओली समूहका कोही नेताले सार्वजनिक स्थानबाट प्रतिनिधिसभा विघटन संविधानको कुन व्यवस्थाअनुसार गरेको भन्नेबारे बोल्न नसकेको भन्दै पुनले अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गरे । पुनले जनताको भावनाअनुसार न्याय निरुपण गर्नुपर्ने समय आएको चर्चा गर्दै न्यायालयप्रति आफूहरुको विश्वास रहेको उल्लेख गरे ।

ओलीको व्यक्तिगत महत्वाकांक्षा, स्वेच्छाचारिता र निरंकुशतालाई अदालतले सही ठहर्‍याउन नसक्ने उनको भनाइ छ । ‘‘न्यायपालिकाले ओलीको कलदमलाई बदर गरेर प्रतिनिधिसभा पुनःस्थापना गर्छ । यो कदम सच्याउनुको विकल्पै छैन । संविधानले त्यसै भन्छ,’’ उनले भने ।

न्यायालयले संविधानको संशोधन नभइ भएको संवैधानिक व्यवस्थाको व्याख्या गर्ने भन्दै नेता पुनले कानुन नबुझेको सामान्य मानिसले संविधान पढ्दा कतै पनि बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको अधिकार नराख्ने जिकिर गरे ।

ओलीको अलोकतान्त्रिक र निरंकुश कदमप्रति खबरदारी गर्दै सडकबाटै सच्याउन बाध्य पारिने चेतावनी पनि उनले दिए । ज्ञानेन्द्र शाहको निरंकुशता जनताको शक्तिका अगाडि नटिकेको चर्चा गर्दै उनले ओलीको निरंकुशता धेरै दिन नटिक्ने दाबी गरे । ‘‘देशव्यापी पञ्चर्‍यालीमा जाँदा ज्ञानेन्द्रलाई लाखौँले ढोगेका थिए ।

उनले टेकेको माटो टिपेर मानिसहरुले घर लैजान्थे । ज्ञानेन्द्र ‘बुझेँ–बुझेँ’ भन्दै हिँड्थे । त्यस्ता ज्ञानेन्द्रसमेत जनताका अगाडि टिकेनन्’, उनले भने, ‘‘अहिले ओलीले ज्ञानेन्द्रको जस्तै पञ्चर्‍याली गरेका छन् । जनता धेरै सचेत भइसकेको छ । जनतालाई हेप्नेहरु इतिहासबाट गलहत्याइएका छन् । ओलीलाई पनि जनताले एक दिन ज्ञानेन्द्रलाई जसरी गलहत्याउँछन् ।’

ओलीले आफू कामचलाउ प्रधानमन्त्री भइसकेपछि कामचलाउ मन्त्री नियुक्त गरेको र केही माओवादी जनयुद्धबाट र झापा आन्दोलनको क्रान्तिकारी विरासतबाट आएका मानिसहरु पनि ओलीको मन्त्री खान दोडिएको भन्दै उनले व्यंग्य गरे । ‘‘आयु सिद्दिएको कामचलाउ प्रधानमन्त्रीको पनि कामचलाउ मन्त्री खान केही साथीहरु दौडादौड गरेको देखियो ।

यो कस्तो स्वाभिमान ? कस्तो विचार ? कस्तो संस्कृति ?,’’ पुनले भने, ‘‘यो दलाल तथा नोकरशाही प्रवृत्ति हो, बिचौलिया प्रवृृृत्ति हो । ओलीजी र उहाँको गुटले जे आउँछ खान्छ, जे पाउँछ खान्छ । जायज–नाजायज सही–गलत केही मतलब गर्दैन ।’’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *