काठमाडौं, २७ पुस–ललितपुरस्थित कर्मनासा खोला किनारमा पर्ने ८ रोपनी १२ आना जग्गा नक्सा तोडमोड गरी व्यक्तिको नाममा दर्ता गरिएको काठमाडौं अस्पताल, यूरो हाउजिङ र मालपोतका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
हाल ललितपुर महानगरपालिका–२८ र २३ मा रहेको तत्कालीन हरिसिद्धी गाविस–१ तथा धापाखेल–१ मा पर्ने जग्गा हिनामिना भएको हो । आयोगले सात कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख वद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव, सर्भेक्षक केशव थापा मगर, मालपोत कार्यालय ललितपुरका तत्कालिन प्रमुख उपसचिव बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, दिनेश न्यौपाने र र खरिदार आत्माराम लुईटेलको संलग्नता रहेको आयोगले जनाएको छ ।
यूरो हाउजिङ डेभलपर्सका कम्पनीका सञ्चालकहरुले जग्गा हिनामिनाको योजना बनाएका थिए । सो कम्पनीका सञ्चालकहरु गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धरविरुद्ध मुद्दा दायर भएको छ । त्यस्तै काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरु डा। ईश्वरलाल आचार्य, डा। दुर्गामान जोसी र दुर्गेस नन्दिनी भट्टचनविरुद्ध समेत मुद्दा दायर भएको छ ।
सबैलाई दुई करोड दुई लाख ३३ हजार ६ सय ७१ रुपैयँ ८८ पैसा बिगो दाबी गरी मुद्दा दायर भएको छ । उनीहरुले सो जग्गा प्लटिङ गरी विभिन्न व्यक्तिलाई बिक्री गरेका थिए । जग्गा किन्ने ३३ जनाविरुद्ध भने जग्गा जफत गर्ने प्रयोजनका लागि मात्र मुद्दा दायर भएको छ ।
ललितपुर महानगरपालिका–२३ स्थित सिलौटेमा पर्ने कर्मनासा नामको सार्वजनिक खोला एवं सो खोला आसपासको सरकारी र सार्वजनिक जग्गा यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालयका केही कर्मचारीहरूको मिलेमतोमा २०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई सार्वजनिक जग्गा समेत प्लटिङ्ग गरी व्यक्ति विशेषलाई बिक्री गरेको उजुरीको आधारमा उनीहरुमाथि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
