काठमाडौं, २९ पुस–संसद् विघटनको विषयमा सर्वोच्च अदालतले आफ्नो फैसला सुनाउन बाँकी छ । अदालतले संसद् विघटनको निर्णय सदर गर्ला वा पुनःस्थापनाको आदेश देला चौतर्फी चासो छ ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने कुनै पनि हालतमा संसद् पुनर्गठन हुन नसक्ने दाबी गर्दै आएका छन् । प्रधानमन्त्रीकै निर्देशनानुसार सुरक्षा निकायले भने निर्वाचनको सुरक्षाको तयारी सुरु गरिसकेका छन् ।

नेपाल प्रहरीले एआईजी विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम सुरु गरेको छ । पोखरेलको नेतृत्वमा ३७ सदस्य रहेको समितिले आवश्यक गृहकार्य सुरु गरिसकेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार समितिले निर्वाचनमा चाहिने साधन, स्रोत, आर्थिक व्यवस्थापनदेखि आवश्यक सुरक्षा रणनीतिको विषयमा तयारी गर्नेछ । समितिकै प्रतिवेदनको आधारमा प्रहरीले सरकारसँग निर्वाचनका लागि अपुग साधन–स्रोत माग गर्नेछ । प्रहरीले निर्वाचनका लागि आफूहरुसँग पर्याप्त स्रोत–साधनको अभाव भएको यसअघि नै सरकारलाई जानकारी गराइसकेको छ ।

समितिले निर्वाचनको सुरक्षा मोडालिटी, सुरक्षा चुनौतीलगायतको विश्लेषणसमेत गर्नेछ । गृह मन्त्रालयले यसअघि नै सहसचिवको नेतृत्वको निर्वाचन सुुरक्षासम्बन्धी एक समिति बनाइसकेको छ ।

निर्वाचनमा चारओटै सुरक्षा निकाय परिचालन हुँदै आएका छन् । निर्वाचनमा जुट्नुपर्ने भएपछि प्रहरीको समायोजन प्रक्रियासमेत प्रभावित भएको छ ।

निर्वाचनका लागि म्यादी प्रहरीको भर्नाबारे भने अहिल्यै प्रहरी प्रधान कार्यालयले निर्णय गरिसकेको छैन । तर, वैशाखमा निर्वाचन हुन मुस्किल रहेको सुरक्षा अधिकारीहरु दाबी गर्दै आएका छन् ।

सत्तारुढ दल नेकपाको आधिकारिकता विवादसमेत जारी रहेको र संसद् विघटनबारे पनि सर्वोच्चको फैसला नआइसकेको अवस्थामा वैशाखमा निर्वाचन मुस्किल रहेको सुरक्षा अधिकारीहरुको बुझाइ छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *