जीवनसिंह राजवंशी/बिर्तामोड, २९ पुस–झापाको विर्तामोडमा चौंथो भाक्का दिवस भव्य रुपमा सम्पन्न भएको छ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा बुधबार बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस मनाईएको हो ।
विर्तामोडको सिटीसेन्टरमा कोच लोक साँस्कृतिक कार्यक्रमसहित चौथो राष्ट्रिय भाक्का दिवस मनाईको हो । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिले २०७४ सालदेखि प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भाक्का दिवस’ घोषणा गरी कोच लोक साँस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भाक्का दिवस’ मनाउँदै आएको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताउनुभयो ।
कोच राजवंशी समुदायमा मात्र सीमित रहेको भाक्का पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिबीच समेत लोकप्रिय बन्दै गएको छ । भाक्कालाई देशव्यापी रुपमा प्रवद्र्धन गर्न कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समिति लगायतका दर्जनौं संघसंस्थाको ऐकिवद्धता र हजारौंको सहभागितामा आज ‘राष्ट्रिय भाक्का दिवस’ मनाइएको हो ।
कार्यक्रममा विभिन्न जातिय लोक संस्कृती झल्कने भेषभूषा, गरगहना ,पहिरन र बाजाहरुको पर्दशनी गरिएको थियो । भाक्का मौलिक परिकार सँगै व्यवसायीक रुपमा समेत बिस्तार हुँदै गएको राजवंशी समुदायका महिलाहरु बताउछन् ।
भाक्का दिवस कार्यक्रममा सांसदहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी वल जिल्लाका प्रमुख, भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका, कचनकवल गाउँपालिका, गौरादह नगरपालिका, आदिवासी जनजाती महासंघ लगायत विभिन्न निकाय र स्थानिय संघ संस्थाका प्रमुखहरुको सहभागीता रहेको थियो ।
