मोरङ, २९ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहको मोरङ पथरीशनिश्चरे नगर समितिको बुधबार बैठक समापन भएको छ ।
पार्टीको नगर सचिव बालकुमार मगरको अध्यक्षतामा भएको बैठकमा प्रदेश समिति सदस्य समेत रहेका संविधान सभा सदस्य लालबहादुर सुश्लिङ मगर, अर्का संविधान सभा सदस्य तथा जिल्ला सदस्य चण्डीप्रसाद राई, प्रदेश सभा सदस्य कृष्णकुमारी राई, नगर प्रमुख दिलिपकुमार राई, जिल्ला सदस्य समेत रहेका नगर इन्जार्ज दिनानाथ तिम्सिना, टंक भण्डारी, महिलाको प्रदेश समिति सदस्य कृष्णकुमारी बिक, महिला बिभाग प्रमुखसमेत रहेका अनेरास्वबियू जिल्ला समिति सदस्य निता कुलुङ राई लगायतले विचार राखेका थिए ।
पार्टी जिल्ला सदस्य टंक भण्डारीले केपी ओली समूहका नेताहरु राजावादी समूहको कार्यक्रमहरुमा ठुला ठुला झण्डा बोकेर अगुवाइ गरिरहेको देखिएको भन्दै कम्युनिष्ट कार्यकर्ताहरु सजक रहनुपर्ने बताए ।
राजावादीको संख्या बढाउन ओली समूहका नेताहरु लाग्दै आएको भण्डारीको आरोप थियो । उनले ओली मदन भण्डारी फाउण्डेसनको नाममा पहिलैदेखि गुटको राजनीति गर्दै आएको विचार राखेका थिए ।
बक्ताहरुले पार्टी बिधि, विधान र अनुसाशनमा चल्ने नैतिकवान नेता कार्यकर्ताहरु आफ्नो समूहमा रहेको दावि गरेका छन ।
मोहन तुम्बापो लिम्बूको संयोजकत्वमा ८३ सदस्यीय नगर समिति मध्ये बैठकमा ६० जना सहभागि भएको केहीले अन्य कामले गर्दा बैठकमा सहभागि हुन नसकेको कार्यक्रमको अध्यक्षता गरेका नगर सचिव बालकुमार मगरले बताए ।
संयोजक तुम्बापो भने बैठकमा उपस्थित थिएनन् । उनले कुनै समूहमा नलाग्ने बताउदै आएका छन् । केही दिनपछि केन्द्रीय नेताहरुको उपस्थितिमा ब्यापक प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको कार्यक्रममा सहभागि चण्डीप्रसाद राईले बताए ।
