काठमाडौं, २९ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नाम र सूर्य चिन्ह कानूनी रुपमै आफूहरुको हुने दाबी गरेका छन् ।

काठमाडौं जिल्ला कमिटीले प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोग विधिसम्मत निर्णय गर्ने र पार्टीको नाम र सूर्य चिन्ह आफूहरुको हुने दाबी गरेका हुन् । उनले आफूहरुको पार्टीले आधिकारिता नपाएमा ‘आँधी हुरी आउने’ समेत चेतावनी दि ए।

‘निर्वाचन आयोगले संविधान, नीति नियम, विधि र विधानभन्दा बाहिर गएर निर्णय गर्ने छैन । हाम्रो पार्टीको नाम र सूर्य चुनाव चिन्ह हाम्रै हुनेछ । यदि त्यसो भएन भने यहाँ आँधीहुरी बतास आउँछ,’ अध्यक्ष प्रचण्डले भने, ‘केपी ओलीले संविधान मिचे जस्तै गरेर यदि अरु संवैधानिक निकायले पनि त्यही गरे भने यो देश, यी नेपाली जनता हेरेर बस्दैननन् । आँधी, हुरी आउँछ ।’

उनले व्यक्ति सर्वेसर्वा कहिल्यै नुहने उल्लेख गर्दै विधानमा लेखिएको कुरा आधिकारि हुने बताए। ‘व्यक्ति सर्वेसर्वा कहिल्यै हुँदैन, बहुमतको निर्णय सबैले मान्नुपर्छ भन्ने विधानमा नै लेखिएको छ । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ,’ उनले भने ।

उनले आफूलाई निर्वाचन आयोग र सर्वोच्च अदालतमाथि विश्वास भएको समेत दोहोर्‍याए । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली आफै भगौडा भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले आफूहरूसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको दावी गरे । प्रधानमन्त्री ओलीले आफूहरुलाई भगौडा भनेको प्रश्नको जवाफमा प्रचण्डले उल्टै ३० प्रतिशत मात्रै केन्द्रीय सदस्य रहेको ओली समूहनै भगौडा समूह भएको बताएका हुन् । ‘उहाँ (केपी ओली) ले हामीलाई भगौडा भन्नु भएछ । ३० प्रतिशत पनि नभएको रैनाथे, ७० प्रतिशत हुने भगौडा हुने रु, अध्यक्ष प्रचण्डले भने ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *