काठमाडौं, ५ माघ–संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलन सञ्चालन गर्दै आएको नेकपाको प्रचण्ड–नेपाल समूहले उपत्यकाकेन्द्रित आन्दोलनमा जोड दिएको छ ।

संसद् पुनस्र्थापनाका लागि जनदबाब सिर्जना गर्न आन्दोलन चर्काउनुपर्ने निष्कर्ष निकाल्दै प्रचण्ड–नेपाल समूहले ९ माघमा काठमाडौंमा बृहत् जनप्रदर्शन र सभा आयोजना गर्ने कार्यक्रम तय गरेको छ ।

संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसका विरुद्ध राजनीतिक, संवैधानिक र कानुनी प्रतिवादमा उत्रने घोषणा गरेको प्रचण्ड–नेपाल समूहले दबाब सिर्जनाका लागि उपत्यकाकेन्द्रित संघर्षमा जोड दिएको हो । संसद् विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतमा आइतबारदेखि नियमित सुनुवाइ सुरु भएकै वेला प्रचण्ड–नेपाल समूहले सशक्त आन्दोलनमा जोड दिएको छ । पूर्व न्यायाधीश र नागरिक समाजकै अगुवाले समेत सडकबाट ‘कोर्स करेक्सन’का लागि दबाब दिन सकिने अभिव्यक्ति दिएका छन् ।

केन्द्रीय संघर्ष समितिको पछिल्लो बैठकले ‘प्रधानमन्त्रीद्वारा चालिएको प्रतिगामी, प्रतिक्रान्तिकारी तथा असंवैधानिक कदमका विरुद्ध अग्रगमन, लोकतन्त्र तथा संविधान र जनअधिकारको रक्षाका लागि’ ९ माघमा काठमाडौंमा बृहत् विरोध प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले बताए । विरोध प्रदर्शनको तयारीकै सिलसिलामा ७ माघमा भृकुटीमण्डपबाट उपत्यकाव्यापी मोटरसाइकल र्‍याली आयोजना गर्ने नेपाल–प्रचण्ड समूहको तयारी छ ।

उपत्यकाका विभिन्न स्थानबाट जुलुससहित अपराह्न १२ बजे काठमाडौंको रत्नपार्कबाट एकीकृत विरोध प्रदर्शन गरिने पनि उनले जानकारी दिए । विरोध प्रदर्शनमा व्यापक जनसहभागितासहित जनअधिकार रक्षाका लागि ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघ–संगठन तथा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा संघर्ष समितिका तर्फबाट अपिल गरिएको छ ।

राजधानीमा हुने विरोध प्रदर्शनको तयारीका लागि ४, ५ र ६ मााघमा प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा र शाखा कमिटी, सम्पर्क तथा जनवर्गीय संगठनका तहगत कमिटीका बैठक आयोजना गरी तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशित गरिएको जारी विज्ञप्तिमा छ । त्यस सिलसिलामा ६, ७ र ८ माघमा पर्चा वितरण, कोणसभा, माइकिङ, सांस्कृतिक प्रचार सभासहितका सिर्जनात्मक प्रचार कार्यक्रम गर्न पार्टी कमिटी र जनसंगठनहरूलाई निर्देशन गरिएको सहसंयोजक भट्टराईले जानकारी दिए ।

विद्यार्थीलाई प्रचण्डको निर्देशन स् मलाई पनि लाठी खान मन छ, आन्दोलन आवेगमय हुनुपर्‍यो

पार्टीले राजधानी केन्द्रित आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन चर्काउन युवा–विद्यार्थीलाई निर्देशन दिएका छन् । जुझारु, आवेगमय आन्दोलनको अग्रपंक्तिमा रहेर आफू पनि पुलिसको लाठी खान तयार भएको भन्दै प्रचण्डले आन्दोलनलाई आक्रामक बनाउन निर्देशन दिएका छन् ।

‘हाम्रो आन्दोलन अब अलिकति आवेगमय हुनुपर्यो, अलिकति जुझारु हुनुपर्‍यो, अलि आक्रामक हुनुपर्यो । त्यो भिजिटारिएन जस्तो हुनुभएन, अलि आक्रामक सिंह गर्जिए जस्तो हुनुपर्‍यो । त्यसबाट प्रतिक्रान्तिकारीको मुटु हल्लिनु पर्‍यो । यस्तो आन्दोलन चाहिएको छ,’ अनेरास्ववियुको उपत्यकास्तरीय भेलामा आइतबार प्रचण्डले भने, ‘मैले अहिले युवाहरूलाई पनि भनें– तपाईंहरू आक्रामक ढंगले आउन जरुरी छ । तर, त्यसो भनेर हामी बुढाहरू बुढा भएका छैनौँ, अग्रपंक्तिमा हामी नै हुन्छौँ र हिजो गिरिजाबाबु अथवा माधव, झलनाथजीले लाठी खाए जस्तो मलाई किन हो खै टाउको चिलाएको छ, लाठी खान मन छ यो पटक । लाठी हानेको हेर्न मन लागेको छ ।’

अदालत र निर्वाचन आयोगप्रति भरोसा छ, तर सेटिङ शब्द रहस्यमय

प्रचण्डले निर्वाचन आयोग र सर्वोच्च अदालतले निष्पक्ष काम गर्नेमा पूर्ण भरोसा भए पनि प्रधानमन्त्री केपी ओली र उनीनिकट व्यक्तिहरूको सेटिङ शब्दले पर्याप्त शंका जन्माएकाले विरोध गर्नुपर्ने अवस्था रहेको बताए ।

‘देशमा डरलाग्दो षड्यन्त्र भइरहेको छ, निरंकुशताको ठाउँमा पुर्याउने र देशलाई अँध्यारो सुरुङमा धकेल्ने षड्यन्त्र भइरहेको छ । सेटिङ भएको छ भनेर केपी र उनका मान्छेले भन्दै हिँडेका छन्, हुँदाहुँदा अदालतलाई पोलिटिकल डिसिजन गर्नुपर्छ भनेका छन्, निर्वाचन आयोगलाई पनि भनेका छन्, हामीले त अदालतलाई भरोसा गरेका छौँ, हामी शंका गर्न चाहँदैनौँ, तर सेटिङ शब्दभित्र के रहस्य हो भन्ने चाहिँ लागेको छ,’ प्रचण्डले भने, ‘तर, तिनको सेटिङलाई शंका गर्न त पाइयो नि १ तर, केपीका मान्छेले सेटिङ भइरहेको छ भन्नेको त शंका गर्न, विरोध गर्न त पाइयो नि १’

मलामी जाने वेला केपी ओली हाँस्दै हिँडे

संसद् विघटनका कारण देश र जनता रोइरहेका वेला प्रधानमन्त्री ओली भने कमेडियन बनेर हाँस्दै हिँडेको प्रचण्डको आरोप छ । ‘तपाईं–हामी लाखौंको संख्यामा सडकमा पोखिँदा केपी ओली गणतन्त्र आउनुहुँदैन भनेर रुँदै हुनुहुन्थ्यो । आज उहाँले हामीले यति संघर्षबाट बनाएको संविधान र गणतन्त्रमाथि निरंकुशताको बुट बजार्नुभएको छ र हाँस्दै हिँड्नु भएको छ, कमेडी देखाउँदै हिँड्नु भएको छ ।

केपी ओली मलामी जाने वेलामा हाँस्दै हिँड्नु भएको छ,’ प्रचण्डले भने, ‘यस्तो मान्छेलाई स्वाभाविक मान्छे भन्न सकिन्छ रु तपाईंले कति हसाउन सक्नुहुन्छ पीर छैन, तर देश रोएको वेला हाँसेको देख्दा आक्रोश आएको हो । देश, जनता पीडामा छन्, कोही संसद् विघटनका पक्षमा छैनन् ।’

नयाँ पत्रिका दैनिकबाट

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *