दमक, ६ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाक्रीले प्रधानमन्त्रीले प्रतिनिधिसभा बिघटनको प्रतिगामी कदम सच्याउनु पर्नेमा जोड दिइन् । नेत्री झाक्रीले प्रधानमन्त्रीले हचुवाको भरमा संसद विघटन बिरुद्ध जुट्न आज झापाको दमकबासीहरुलाई आग्रह गरिन् ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा प्रस्तुत भएकी नेत्री झाक्रीले ओलीकै गृह नगर दमकमा ओली खोक्रो राष्ट्रबादी भएको बताईन् । नेत्री झाक्रीले भनिन्ः ‘बहुमत प्राप्त दलका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेर राजतन्त्र पुर्नस्थापना गर्न चाहिरहेको छ ।’ भइरहेको बहुमतसहितको सरकारका ‘प्रधानमन्त्रीले संसद विघटन गर्नुनै राजतन्त्र पुर्नस्थापनाको निम्ति ढोका खुल्ला गर्नु हो’, झाक्रीले भनिन् ।
अनेरास्वीयुका पूर्व अध्यक्ष समेत रहेकी नेत्री झाक्रीले प्रधानमन्त्री ओलिले मुलुकलाई दुर्घटनातर्फ लगेको बताइन् । ओली बिरुद्ध निक्कै कडा रुपमा प्रस्तुत भएकी नेत्री झाक्रीले निरंकुश राजसंस्थालाई घुँडा टेकाएका नेपाली जनताले केपी ओलीको निरंकुशतालाई सजिलै फाल्ने बताइन । उनले भनिन्ः ”राजाले घुडा टेकेको मुलुकमा ओलिले पनि घुडा टेक्छन” ।
नेत्री झाक्रीले ओलिको संसद बिघटन गर्ने असंबैधानिक कदम नसच्चिए मुलुक अझै दुर्घटनामा जाने बताएकी छिन् । झाक्रीले नेपाली जनताले बलिदान दिएर ल्याएका अहिलेका उपलब्धिहरु प्रधानमन्त्री ओलीका कारण गुम्ने खतरा रहेको बताईन् ।
दमकस्थित नेकपाको दमक नगर कमिटिको कार्यालयमाा आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा झापाका इन्चार्ज रबिन कोइराला, पूर्वसांसद तथा पार्टीका झापा सहइन्चार्ज धर्मशिला चापागाई, जिल्ला कमिटि सचिव बिजय साङपाङ राई ‘मणि’ले सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेकपा दमक नगर सचिव तीर्थराज बस्नेतको अध्यक्षतामा भएको थियो । सो अवसरमा प्रतिगमन बिरुद्ध सडक सघर्षका निम्ति नेकपा झापाका सचिवालय सदस्य राजेन्द्र दाहालको संंयोजकत्वमा ५ सय ५१ जना रहेको समिति गठन गरेको छ । दाहाल साविकः नेकपा (एमाले) दमक नगर इन्चार्ज हुन् ।
समितिमा महेष घिमिरे, हरिकृष्ण पौडेल, रोशन भण्डारी, कबिन्द्र पौडेल, तीर्थराज बस्नेत लगायतका नेताहरु छन् ।
त्यस्तै, आजै १ सय १ जना रहेको सचिवालय समिति समेत गठन गरिएको नेकपा झापाका युवा नेता हरिकृष्ण पौडेलले जानकारी गराए । सघर्ष समितिको सचिवालयमा समेत रहनुभएका युवा नेता पौडेलले प्रतिगमन बिरुद्धका सडक सघर्षका आन्दोलनलाई चरणबद्ध रुपमा अघि बढाइने बताए । कार्यक्रमको सञ्चालन तुलशी निरौलाले गरेका थिए ।
