काठमाडौं, ८ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली पत्रकारिताको भाषाप्रति असन्तुष्टि जनाएका छन् । अंग्रेजी भाषाको प्रभावबाट नेपालका पत्रकारहरुले आफ्नो भाषा बिर्सिएको भन्दै असन्तोष व्यक्त गरेका ओलीले दशक अघिसम्म राजा र राजपरिवारका विषयमा कस्तो भाषा प्रयोग गरिन्थ्यो भन्दै प्रश्न उठाएका छन् ।

‘हिजो राजतन्त्र हुँदा, राजा हुँदा, राजाका श्रीमती छोराछोरी हुँदा कसरी बोल्थ्यौं ?’ ओलीले पत्रकारको भाषामा प्रश्न उठाउँदै भने, ‘खानुभयो भन्दा खाइबक्स्यो भन्नुपथ्र्यो, हिड्नुभो भन्दा हिंडिबक्स्यो भन्नुपथ्र्यो । आज आएर खानुभयो हिंड्नु भयो भन्न पनि गाह्रो ?’

उनले भाषाका कारण सभ्यता नै भूलेको आरोप समेत लगाए । ‘अंग्रेजीमा सबैलाई यू भनिन्छ, त्यही सिकेर तपाईंहरुले पनि तिमी भन्न थाल्नुभयो’, ओलीले भने, ‘हाम्रो चराको परिवार जस्तो होइन । चराले त दुईटा फूलपार्छ भुर्र उठ्छ । त्यसपछि आमा-बाबु पनि चिन्दैन ।’

उनले आमा–बुबा, हजुरबा हजुरआमासहितका अग्रजको महत्वपूर्ण भूमिका रहेको भन्दै त्यसलाई अवमूल्यन नगर्न आग्रह गरे । ‘हामी आमा-बुबा, हजुरबुवा हजुरआमा सबैलाई आदर सम्मान गर्छौँ, खुट्टामा ढोग्ने हामो चलन छ’, उनले थपे, ‘बिहानै उठेर बुवा आमालाई खुट्टामा ढोग्दा रोग लागेर मर्‍यो भनेको कतै सुन्नु भएको छ ?’ उनले भने, ‘हेल्लो, हाउआर यू भन्यो, सकियो । बाले हेरे ! आमा पनि त्यहि थिइन् हेरिन् !’

प्रधानमन्त्री ओलीले नेपाली पत्रकारको भाषा मात्र होइन पस्किने समाचारहरुमा समेत असन्तुष्टि पोखेका छन् । उनले पित पत्रकारिता देशको ठूलो समस्या भएको समेत बताए । अहिले केही सञ्चार माध्यम ‘राम्रो कुरा देख्न पर्छ भनेर आँखा छोप्छ, राम्रो कुरा सुन्नुपर्छ भनेर कान थुन्छ । तर सुन्दिन, हेर्दिन, बोल्दिन’ भने जसरी प्रस्तुत भएको उनले बताए ।

नेकपामा आफ्नो समूहसँग निकट नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रधानन्त्री ओलीले केही सञ्चार माध्यम झुटो छापेर जनतालाई दिग्भ्रमित पार्ने काममा तल्लिन रहेको आरोप लगाए । उनले अघि भने, ‘स्वार्थबाट अन्ध हुन्छ वा आत्म बेच्छ, त्यसपछि नर्क पर्छ । नर्कमा गएपछि फर्किन सक्दैन ।’

हलमा उपस्थित पत्रकारहरुलाई सम्बोधन गर्दै उनले स्वार्थका लागि समाचार नलेख्न आग्रह गरे । उनले भने, ‘यो पार्टीसँग निकट भएकाले म तपाईहरुलाई आग्रह गर्छु, पत्रकार हुँ भन्ने वित्तिकै फलानो पार्टीको हो भनेर चिनोस् ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *