काठमाडौं, ११ माघ–नेपाल बार एसोसिएसनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विपक्षमा बहस गरिरहेका कानुन व्यवसायीका विषयमा गरेको टिप्पणी खेदजनक भएको भन्दै आपत्ति जनाएको छ । आइतबार नेपाल बार एसोसिएसनले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री आलीले माफी माग्नुपर्ने पनि माग गरेको छ ।

“‘वकिलले कुरा फिटेका-फिट्यै छन्, केही वकिलहरूले एकजना बाजे वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न’ भनेर दिनुभएको अभिव्यक्ति संविधान, कानुन र सम्माननीय प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरणअनुकूल पनि छैन साथै उक्त अभिव्यक्ति हाम्रा वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यू र समग्र कानुन व्यवसायीकै विरुद्ध मात्र नभएर अदालतकै मानहानि र अवहेलनाजन्य कार्य समेत हो,” महासचिव लीलामणि पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, “प्रधानमन्त्रीज्यूको उक्त अमर्यादित, अपमानजनक र असहिष्णु अभिव्यक्तिप्रति नेपाल बार एसोसिएसन गम्भीर आपत्ति र खेद व्यक्त गर्दछ । उक्त अभिव्यक्तिप्रति तत्काल सार्वजनिक रुपमा माफी माग्नसमेत सम्माननीय प्रधानमन्त्रीज्यूसँग जोडदार माग गर्दछौं ।”

त्यस्तै, नेपाल बारले कानुन व्यवसायीहरूलाई अदालतकै अभिन्न अधिकृतका रुपमा मानिने विश्वव्यापी मान्यता रहेको, बहस पैरवी गरेको विषयलाई लिएर कानुन व्यवसायीविरुद्ध कुनै मुद्दा मामिला गर्न नसकिने व्यवस्था स्मरण गराइएको छ ।

“बहस पैरवी गर्दा कुनै पनि मुद्दाको पक्ष वा अन्य कसैले पनि कानुन व्यवसायीप्रति कुनै गाली-गलौज, अपमानजन्य, होच्याउने वा खिसी-ट्युरीको विषय बनाइनु हुँदैन । यस्तो कार्य अदालतको अवहेलनाजन्य र खेदजनक पनि हुन्छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले पुस ९ गतेका दिन पार्टी कार्यक्रममा सम्बोधन गर्ने क्रममा ओलीले कानुन व्यवसायीको विषयमा टिप्पणी गरेका थिए । बारले त्यस्ता अभिव्यक्तिहरू नदोहोर्‍याउन पनि प्रधानमन्त्रीलाई सचेत गराएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *