काठमाडौं, १२ माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले भ्रष्टाचारी जोगाउनकै लागि संसद् विघटन गरेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित २ नं प्रदेशका कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

‘राजनीतिक स्थायित्वको लागि हामीले संविधान बनाउने बेलामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार राखेका थिएनौँ। तर, ओलीले भ्रष्टाचारी जोगाउनकै लागि संसद् भंग गरे’ उनले भने, ‘संसद् नै भंग गरेपछि न रह्यो बाँस, न बज्यो बाँसुरी।’

ओलीले पार्टीलाई प्रधानमन्त्री बन्ने भर्‍याङ बनाएर संविधान च्यातेको पनि आरोप लगाए। ‘ओलीको कदम संवैधानिक कसैले भनेका छैनन्। सर्वोच्चमा संसद विघटनको विषयमा चलिरहेको छ। सबैले ओलीको कदमलाई असंवैधानिक भनिरहेका छन्’ उनले भने, ‘ओली एक्लिसकेका छन्। सर्वोच्च अदालतले संविधान हेरेर निर्णय गर्छ।’

अहिले भइरहेको संघर्ष पद र कुर्सीको लागि नभएको जिकिर गरे। ‘अहिले हामीले गरिरहेको संघर्ष पद र कुर्सीको लागि भन्ने भ्रम चलिरहेको छ। तर, यो लडाइँ पार्टीलाई विधि र पद्धतिबाट चलाऔँ, व्यवस्थित गराऔँ। सबैलाई व्यक्तिको क्षमता अनुसारको जिम्मेवारी दिऔँ भनेर चलाइएको हो’ उनले भने।

ओली अनुशासनहीन र गतिछाडा भइसके

उनले केपी ओली कुनै अनुशासनमा बस्न नसक्ने गतिछाडा मान्छे भइसकेको बताए। ‘देशलाई समाजवादको दिशामा जान नदिने, भ्रष्टाचार नियन्त्रण गर्ने कि नगर्ने, आसेपासे हेर्ने कि क्षमता हेर्ने भन्ने विषयमा हामीले पार्टीभित्र छलफल गरौँ भनेका हौँ’ उनले भने, ‘तर, पार्टीको बैठक नै राख्न चाहेनन्, कसैको कुरा नै नसुन्ने भएको अहिलेको अवस्था आयो।’

ओलीले गुटको भनेको छुलोछाप पार्टी भएको तर्क गर्छन्। ‘केपी ओली गुट अब ‘सडक छापु पनि होइन। धुलोछाप भइसक्यो। आफूलाई आवश्यकताअनुसार बढाउँछन् केन्द्रीय सदस्य बढाउँदै हिँड्छन्’ उनले भने, ‘मैले सुनेको छु। अहिले जिल्ला जिल्लामा पुगेर डमरु बजाएर आउनुहोस् केन्द्रीय सदस्य लैजानुहोस् भन्दै हिँडिरहेका छन् रे !’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *