काठमाडौं, १३ माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट पार्टीको अध्यक्षमा रहेकोमा खेद प्रकट गरेका छन् । मंगलबार पाँचथरको फिदिममा आयोजित कार्यक्रममा बोल्दै नेपालले ओलीले बुद्धिजीवीहरु, अधिक्ताहरुप्रति दुरावचन गरेकोमा क्षमासमेत मागे ।

“पूर्वन्यायाधीश, बुद्धिजीवी, अधिवक्ताहरु म क्षमा चाहन्छु, जसको मन पोलेको छ, केपी ओलीजीको कारणले गर्दा । केपी ओलीको बोली कम्युनिस्टको बोली होइन । कम्युनिस्ट संस्कारमा हुर्केका मान्छेको बोली होइन,’’ उनले भने ।

उनले ओलीले आफूलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’को मामुली कार्यकर्ता भनेकोमा जवाफसमेत फर्काए । “१५ पुसमा सुदूरपश्चिममा गएर माधव नेपाल प्रचण्डका मामुली कार्यकर्ता पो हुन् भन्नुभएछ । माधव नेपाल प्रचण्डका मामुली कार्यकर्ता ? केपी ओली कहिलेका हुन् नेता तुलना गर्ने हो ? यो पार्टीलाई १५ वर्षसम्म नेतृत्व गर्ने माधव नेपाल कि केपी ओली ? अनि, प्रचण्डको मामुली कार्यकर्ता रे !

प्रचण्डसँग ४० वर्षअघि भेट भएको थियो, “नेपाल भन्छन्, “म पार्टीको काठमाडौंको जिम्मेवार थिएँ, प्रचण्ड काठमाडौंको जिम्मेवार हुनुहुन्थ्यो । हामी दुईटै पञ्चायतविरोधी आन्दोलनमा अलग-अलग पार्टीबाट सहकार्य गरेका थियौँ । केपी ओलीले त प्रचण्डलाई देखेको पनि २०६३ सालमा मात्रै हो । होला दुई-चार वर्ष पहिले । मैले नै २०६२ सालमा बोकेर लगेको हो दिल्ली ।’’

उनले सिलिगुढी वार्ता, लखनउ वार्ताको बेलामा पनि सहकार्य भएको बताए । अध्यक्ष नेपालले शान्ति प्रक्रियामा १२ बुँद सहमतिपत्रमा आफू, प्रचण्ड र गिरिजाप्रसाद कोइरालको हस्ताक्षर रहेको बताउँदै भने, “हामी तीनजना नेता हौँ । सम्पूर्ण परिवर्तनको अगुवाइ गर्ने व्यक्ति, हेक्का होस् केपी ओलीजी । २०६२/६३ को गणतन्त्रका लागि आन्दोलनको आँधीबेहेरी सृष्टि गर्ने मान्छे माधव नेपाल हो, थाहा होस् ।’’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *