काठमाडौं, १४ माघ–प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध तेस्रो चरणको आन्दोलन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार सानेपामा बसेको बैठकले सरकारविरुद्ध तेस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको छ ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध तेस्रो चरणको आन्दोलन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कांग्रेसले सरकारविरुद्ध भ्रातृ र शुभेच्छुक संस्थाहरूलाई सडकमा उतार्ने भएको छ ।
प्रवक्ता शर्माले सरकारविरुद्ध माघ १९ गते भ्रातृ संस्थाहरू र माघ २४ गते शुभेच्छुक संस्थाहरूलाई देशव्यापी रूपमा सडकमा उतार्ने जानकारी दिनुभयो । ‘माघ १७ गते भ्रातृ संस्थाहरू र माघ २४ गते शुभेच्छुक संस्थाहरूले ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय गरिएको छ,’ उहाँले भन्नुभयो ।
प्रवक्ता शर्माले माघ ३० गते जिल्ला कार्यसमितिहरूले जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । कांग्रेसले यसअघि प्रतिनिधिसभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलनअन्तर्गत माघ ८ गते ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गरेको थियो ।
यस्तै, माघ ३ गते ७५३ स्थानीय तहहरूमा र गत पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । कांग्रेसले पहिलो चरणअन्तर्गत गत पुस १३ गते एक सय ६५ निर्वाचन क्षेत्रमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको थियो ।
भ्रातृ संस्थाहरूको म्याद थप
नेपाली कांग्रेसले म्याद सकिएका भ्रातृ संस्थाहरूको म्याद थप गर्ने निर्णय गरेको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले म्याद सकिएका भ्रातृ संस्थाहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो ।
कांग्रेसका भ्रातृ संस्थाहरू नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, नेपाल किसान संघ, नेपाल भूूतपूर्व सैनिक संघ, आदिवासी जनजाति संघ, नेपाल ठाकुर समाज, प्रजातन्त्र सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल विद्यार्थी संघ ९नेविसंघ० को म्याद थपिएको हो । यसअघि पनि कांग्रेसले म्याद सकिएका भ्रातृ संस्थाहरूको म्याद थप गर्दै आएको थियो ।
प्रवक्ता शर्माले म्याद सकिएको मितिबाट ६ महिनाका लागि भ्रातृ संस्थाहरूको म्याद थप गरिएको जानकारी दिनुभयो । उहाँले म्याद थप गरिएका भ्रातृ संस्थाहरूलाई थपिएको अवधिभित्रै अधिवेशन सम्पन्न गर्न पनि निर्देशन दिइएको बताउनुभयो ।
त्यसैगरी, कांग्रेसको कतार, मलेसिया, बहराइन, मलेसिया र साउदी अरबको जनसम्पर्क समितिको क्रियाशील सदस्यलाई स्वीकृत गरिएको छ । बैठकले माल्टामा रहेका नेपालीहरूले गठन गरेको जनसम्पर्क समितिलाई आबद्धता प्रदान गर्ने निर्णय गरेको छ । बैठकले नेपाली जनसम्पर्क समिति युएईको विधानलाई स्वीकृत गरेको छ भने इजरायल जनसम्पर्क समितिको म्याद सकिएको मितिले बढीमा ६ महिनाभित्रमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यकाल थप गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।
सोमबार नागरिकले प्रतिनिधिसभा विघटनको विरोधमा गरेको प्रदर्शनमा सरकारले गरेको दमनलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिँदै विरोध गरेको पनि प्रवक्ता शर्माले बताउनुभयो । बैठकले घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै उक्त दमनलाई निन्दा र भत्र्सना गरेको उहाँको भनाइ छ ।
