बुटवल, १५ माघ–नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले वैशाखमा चुनावको घोषणा गरे पनि चुनाव गराउने नियत नदेखिएको बताएका छन् । बुटवलमा आज आयोजित बृहत सभालाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री केपी ओली ‘कामभन्दा कुरा धेरै गर्ने नेता’भएको बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफुहरुले हातमा हात मिलाएर काम गर्न खोजेको बेला ओलीले आफ्नो खुट्टा तान्दै हिँडेको उनको आरोप लगाए । उनले प्रधानमन्त्री ओली पन्ध्र वर्षअघि भएको लोकतान्त्रिक आन्दोलनमा सहभागी नभएको आरोप लगाए ।
प्रधानमन्त्री ओलीतिर लक्षित गर्दै उनले भने, ‘खाली बकबक गर्नुहुन्छ, उहाँलाई रिस उठ्यो भने पत्रकार, वकिललाई पनि गाली गर्ने !’
ओलीले आफ्नै मन्त्रीलाई समेत गाली गर्दै आएको उनको भनाइ छ । ‘ओलीको जालझेलमा परेका साथीहरु मूल पार्टीमा आउनुस्, तपाईंहरुलाई स्वागत छ,’ उनले भने ।
निर्वाचन आयोगले पनि बहुमत केन्द्रीय सदस्य रहेको पार्टी नै मूल हुने बताइसकेकाले भ्रममा नपर्न उनले कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने, ‘निर्वाचन आयोगले ४४१ जनाको केन्द्रीय कमिटीलाई मान्यता दिएपछि त्यसकै आधारमा बहुमत हुन्छ, त्यसैले मूल पार्टी हाम्रो हो । पछि मनोनित गरेका कता कता हराउँछन् ।’
