विराटनगर, १६ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले देशको गर्नुको सट्टा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रघाती र भष्मासुर बनेर निस्किएको बताएका छन् ।
प्रदेश-१ को राजधानी विराटनगरमा नेकपाले आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको सभालाई सम्वोधन गर्दै नेता खनालले ओलीले अलोकतान्त्रिक कदम उठाई देश र जनतालाई धोका दिएकाले आफूहरु वाध्यताले सडक संघर्षमा उत्रिनु परेको बताए ।
‘हामी फेरि एक पटक सडकमा आएका छौं । किनभने प्रधानमन्त्री केपी ओली जस्तो मान्छे यो देशमा जन्मियो, कम्युनिष्ट पार्टीमा जन्मियो, यो देशको प्रधानमन्त्रीका रुपमा जन्मियो तर ती मान्छे भष्मासुर रहेछन् ।’
उनले देशमा गरिबी र अशिक्षा उन्मुलन गर्नुपर्ने बेलामा केपी ओलीका कारण सिङ्गो देश आन्दोलित बन्नु परेको भन्दै नेता खनालले प्रतिक्रिवावादी ओली प्रवृत्तिलाई परास्त गर्दै नेकपालाई समाजवादी पार्टी बनाउनु पर्ने अहिलेको आवश्यकता भएको बताए । उनले अहिलेको एक मात्र काम संसद पुनस्स्र्थापना गर्नु रहेको बताउँदै प्रचण्ड–नेपाल पक्षले नेतृत्व गरेको नेकपामा दुई तिहाई पार्टी सदस्य रहेको दाबी गरे ।
त्यसैले निर्वाचन आयोगले संविधान बमोजिम आफ्नै पार्टीलाई आधिकारिकता दिने विश्वास उनले व्यक्त गरे । त्यस्तै उनले सर्वोच्च अदालतले कानुन बमोजिम प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सहि निर्णय गर्ने भन्दै अदालतलाई आफूहरुले सम्मान गरेको बताए ।
