विराटनगर, १६ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले देशलाई शान्ति र समृद्धिको बाटोमा लैजान खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अपमानित र हुर्मत लिने गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा आज (शुक्रबार) विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी विभाजनपछि प्रधानमन्त्री केपी ओलीले आफूमाथि अत्याचार गर्न थालेको भन्दै नागरिकसँग न्याय मागेका छन् ।

अध्यक्ष प्रचण्डले ओलीले जहिल्यै आफ्ना छोराछोरीलाई मात्रै हेर्‍यो भनेर आरोप लगाउने र अपमानित गरेको बताए । आफूलाई केही साथीले ‘प्रचण्डले त छोराछोरी र ज्वाइँलाई मात्रै काम दिन्छन् भन्छन् त ओलीले, के यो सही हो ?’ भनेर प्रश्न सोध्ने गरेको पनि दाहालले बताएका छन् ।

प्रचण्डले सभामै यसबारे प्रष्ट पार्दै भने, ‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो गल्ती हो ? मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ त्यो मेरो दोष हो ? मैले आफैसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडे त्यो मेरो दोष हो ? मैले आफ्ना छोराछोरीलाई विशेष अधिकार खोजिनँ । जतिबेला गणतन्त्रको लडाइँ लड्दै थियौं मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिँड्थे, त्यो मेरो दोष हो ?’

त्यस्तै दाहालले आफूले शान्ति र समृद्धिको बाटोमा देशलाई लैजान खोजे पनि प्रधानमन्त्रीले ‘ह्युमिलियट’ गरेको बताएका छन् । प्रचण्डले भने, ‘म तपाईहरुसँग न्याय चाहन्छु । केपी ओलीले अत्याचार गर्न खोजे शान्ति र समृद्धिको नयाँ युगतिर लैजान पहल गर्‍यो, जसले त्याग र बलिदानीको कीर्तिमान बनायो त्यसको हुर्मत लिने त्यसलाई ह्युमिलियट गर्ने अपमानित गर्ने ? तर राजा–महाराजा र तिनका दलालहरुलाई चाहिँ सम्मान गर्ने सही हो । म तपाईंहरुसँग प्रश्न गर्न चाहन्छु के मैले गल्ती गरेको हो ?’

अध्यक्ष प्रचण्डले आफूले छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा सहभागी गराएर कुनै गल्ती नगरेको पनि बताए । ‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा सहभागी गराएर के मैले गल्ती गरेको हो रु छोराछोरी भएपछि बिहेबारी हुन्छ, ज्वाइँ हुन्छन्,’ दाहालले भने, ‘धर्म छोराछोरी भन्दै कोचाउने चाहिँ सही हो ? जसलाई मन लाग्यो त्यसलाई आफ्ना हनुमानहरुलाई आफ्ना छोराछोरी भन्नु मात्रै सही हो ?’

आफूहरुले समाजको उत्थानको कुरा उठाएको उल्लेख गर्दै प्रचण्डले थपे, ‘हामीले सुशासन र समृद्धिको सपना देखेकै हो, उत्पीडित समुदायको उत्थानको कुरा गरेकै हो । किसानको पेन्सनको कुरा गरेकै हो ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *