धनगढी, १७ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले ‘डुप्लिकेट’ पार्टी चलाइरहेको बताएका छन् ।
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आज (शनिबार) आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सय जना केन्द्रीय सदस्य लिएर ओलीले डुप्लिकेट पार्टी चलाइरहेको बताएका हुन् ।
‘जहाँ ४४० को बहमत जहाँ हुन्छ त्यही पार्टी आधिकारिक हुन्छ’, उनले भने, ‘हामीले निर्वाचन आयोगलाई सबै सदस्यलाई बोलाएर सोध्न भनेका छौं ।’ उनले ४४० मध्ये सय जना पनि नभएको ओलीको पार्टी डुप्लिकेट पार्टी भएको बताउँदै त्यहाँ गएकालाई फर्किन आग्रह समेत गरेका छन् ।
‘४४० मध्ये ३ सय हामीसँग छन्, ओलीसँग सय जना पनि पुग्दैनन्, सय जना पनि नभएको पार्टी ओर्जिनल हुन्छ कि डुप्लिकेट ?’, उनले भने, ‘केपी ओलकिो पार्टी त डुप्लिकेट पार्टी हो, नक्कली पार्टी हो, त्यहाँ कोही जानु भएको छ भने फर्किहाल्नुहोस्, त्यहाँ अन्धकार मात्रै छ ।’
अध्यक्ष बहुमत भएकै पक्षमा सूर्य चिन्ह हुने भन्दै सूर्य चिन्ह आफ्नो पक्षले आउनेमा ढुक्क हुन कार्यकर्तालाई उनले आग्रह समेत गरे । उनले अध्यक्ष ओलीको चरित्र कम्युनिष्ट नभएको र उनी कम्युनिष्ट सक्ने अभियानमा सक्रिय भएको बताए । उनले प्रतिनिधि सभाको पुनस्र्थापन हुने र केपी युगको अन्त्य हुने दावी गरे ।
अध्यक्ष नेपालले आफूहरु उदाउँदो सूर्य र केपी ओली अस्ताउँदो सूर्य भएको बताएका छन् । उनले ओलीले एमाले र बहुदलीय जनवादको भ्रम छर्ने काम गरेको एमाले र माओवादी मिलेर नयाँ पार्टी बनेको भन्दै अब इतिहासमा फर्कन नमिल्ने बताए ।
