काठमाडौं, १८ माघ–बर्डफ्लु देखिएको काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङमा साढे २५ सय पंक्षी नष्ट गरिएको छ । विभागले एक हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको जानकारी दिएको छ ।

पशुसेवा विभागका अनुसार स्थानीय कृषकले पालेका साढे २५ सय हाँस, बट्टाई, कुखुरा र टर्की नष्ट गरिएको हो । रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका घरपालुवा पंक्षी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले जनाएको छ ।

रोग देखापरेको क्षेत्रलाई पूर्ण निःसंक्रमण गरिएको विभागले सूचना जारी गरी जानकारी दिएको छ । यसअघि नै छिमेकी मुलुक भारतमा बर्डफ्लु भेटिएपछि सीमा क्षेत्रमा कडाइ गरिएको थियो । पशुसेवा विभागले भारतबाट पंक्षीजन्य वस्तुको आयातमा प्रतिबन्ध समेत लगाएको छ ।

मासु राम्ररी पकाएर मात्र खान चिकित्सकको सुझाव
नेपालमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन् । बर्डफ्लु पंक्षीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउनु पर्छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा। निरज बमका अनुसार पंक्षीको मासु खाँदा बर्डफ्लुको भाइरस सर्न सक्ने जोखिम हुने भएकाले राम्रोसँग पकाएर मात्र खानुपर्छ ।

चिकित्सकका अनुसार बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियस तापक्रममा मर्ने अध्ययनहरुबाट देखिएको छ । त्यसैले ७२ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएको खानेकुरा खाँदा बेस हुन्छ ।

बर्डफ्लुको संक्रमण भएमा निमोनिया र रुघाखोकी जस्तै लक्षण देखिन्छ । जाडो मौसममा यसले झन् असर गर्न सक्ने भएकाले पंक्षी र पंक्षीजन्य पदार्थको सम्पर्कमा नजान र सरसफाइमा बढी ध्यान दिन चिकित्सकले सुझाएका छन् ।

बर्डफ्लु कुखुरा, हाँस, टर्की, चराचुरुङ्गीलगायत पंक्षीमा लाग्ने सरुवा रोग हो । यो द्रुत रुपमा फैलिने र ज्यान पनि लिन सक्ने भएकाले यसलाई प्राणातक सरुवा रोगको रुपमा लिइन्छ । बर्डफ्लुका भाइरस मासु, प्वाँख, सिंगान, र्‍याल, सुली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेका बोरालगायतको सम्पर्कबाट सर्छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *