काठमाडौँ, १८ माघ–नेकपाको प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली फेल भइसकेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा आइतबार प्रचण्ड–नेपाल समूहले माइतिघरमा गरेको धर्ना कार्यक्रममा सहभागी भएका नेता खनालले प्रधानमन्त्री ओलीको दिनगन्ती सुरु भइसकेको भन्दै सरकार पाकेको फलझै झर्ने बताएका छन् ।
कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नभएको बताएका हुन् । उनले भने, नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्छ ।
नेकपा प्रचण्ड–माधव पक्ष स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री ओलीले संविधानलाई समाप्त गरी हिन्दू राज्य स्थापनाको षड्यन्त्र गरेको बताइन् । ओली प्रतिक्रियावादीको मतियार बनेको उनको जिकिर छ ।
विघटित प्रतिनिधिसभा सदस्य पूर्णकुमारी सुवेदीले संविधानविपरीत जाने कदमका विरुद्ध लागिरहने बताइन् । संविधानको रक्षाको निम्ति जति दिन पनि आन्दोलन गर्न तयार रहेको उनको भनाइ छ ।
१४ पुसदेखि माइतीघर मण्डलामा जारी धर्ना आइतबार समाप्त गरिएको छ । २१ मगसम्म धर्नाको कार्यक्रम तय गरिएको भएपनि आन्दोलनका थप कार्यक्रमको तयारीका लागि भन्दै धर्नाको समय छोट्याइएको प्रचण्ड–माधव पक्षले जनाएको छ ।
