काठमाडौं, २० कार्तिक–मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) आज (सोमबार) देखि लागू हुँदैछ । नेपाल दूरसञ्चार प्राधिकरणले आज (सोमबार) देखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको हो ।

यो प्रणाली लागु भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमशः ब्लक हुने प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिए । उनका अनुसार एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन । ती फोनहरू ब्लक हुनेछन् ।

प्राधिकरणले गत कात्तिक ४ गते मात्रै एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरू दर्ता गर्न भनेको थियो। सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरूमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने समेत जनाएको थियो ।

सोही अनुसार प्राधिकरणले आजदेखि एमडिएमएस लागू गर्न लागेको हो । प्राधिकरणका अध्यक्ष खनालका अनुसार सुरूमा ‘हाइ रेञ्ज’ का मोबाइल ह्यान्डसेटमा यो लागू हुनेछन् । यसमा एक लाखभन्दा महँगा फोनहरू पर्नेछन् । उनले भने, ‘यसरी गर्दा आज मात्रै ८ सयदेखि एक हजार ह्यान्डसेट ब्लक हुने देखिन्छ । विशेष हाइ रेञ्जका मोबाइल जस्तै आइफोन, वान–प्लस, सामसङ कम्पनीका मोबाइल सेट पर्ने देखिन्छ ।’ प्रणालीमा दर्ता नभएका ह्यान्डसेटहरू क्रमशः दैनिक रूपमा ब्लक गर्दै जाने उनले बताए ।

प्राधिकरणले नेपाल भित्रिने हरेक मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न अनिवार्य गरेको हो । वैध रूपमा अर्थात् सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुन्छ । यस्ता फोन स्वतः एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *