काठमाडौं, ३० कार्तिक–अस्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै गएको भूकम्पका पीडितहरुका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि ६ लाख अस्ट्रेलियाली डलर (करिब ५ करोड नौ लाख रुपैयाँ) को मानवीय सहायता घोषणा गरेको छ।
यहाँस्थित अस्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रममार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ।
नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ।
उक्त सहयोगमार्फत मानव विकास तथा सामुदायिक सेवा ९एचडिसीएस० संस्थाले भूकम्प प्रभावित स्वास्थ्य संस्थालगायत सार्वजनिक संरचनाको पुनर्निमाणमा सघाइनेछ।
नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले भनेकी छन्, ‘पश्चिम नेपालमा भएको भूकम्प र त्यसपछि परकम्पले निम्त्याएको मानवीय र सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। अस्ट्रेलिया र नेपालबीच लामो समयदेखिको मित्रता छ। हामीबीच २०७२ को भूकम्प, कोभिड–१९ महामारीलगायत विपत्तिमा एकअर्कालाई सहयोग गरेको इतिहास छ।’
