प्युठान, ३ कार्तिक–प्युठानमा आमा र छोरा खरबारीमा मृत भेटिएको घटनामा श्रीमान पक्राउ परेका छन् । जिल्लाको नौबहिनी गाउँपालिका –३ की २२ वर्षीया रिमा बुढा र उनका ३ वर्षीय छोरा मुस्कान घर नजिकै खरबारीको पाखोमा मृत भेटिएका थिए ।

जिल्ला प्रहरी प्रमुख डिएसपी ईश्वर थापाका अनुसार शुक्रबार राति आमा रिमाको शव फेला परेको हो । रिमाको शव फेला परेभन्दा केही मुन्ति शनिबार दिउँसो दुई बजेतिर छोरा मुस्कानको शव फेला भेटिएको थियो । रिमा र मुस्कान कात्तिक २७ देखि हराइरहेका भनिएको थियो । उनीहरू हराएको खबर शुक्रबार मात्रै माइती पक्षले प्रहरीमा दिएका थिए ।

रिमाका श्रीमान कमल बुढा मगर घरमै भए पनि उनीहरू हराएका बारेमा प्रहरीमा कुनै सूचना दिएका थिएनन् । ’माइती पक्षबाट खबर पाएकै दिन दिउँसोदेखि बेपत्ता आमाछोराको खोजीमा प्रहरी गएको हो,’ डिएसपी थापाले भने, ‘रिमाको शव फेला परेको थियो । राति भएकाले फर्किएका थियौं । शनिबार छोराको शव पनि फेला परेको हो ।’

भिर मुन्तिर खरबारीको कान्लोमा फेला परेको आमाछोराका शवमा घाउखत रहेको डिएसपी थापाले जानकारी दिएका छन् । तर चोट भिरबाट लडेर लागेको हो वा हत्या गरी कसैले खसालेको हो भन्नेबारे अनुसन्धान थालिएको उनले बताए । रिमा र मुस्कानको शव फेला परेको स्थान उनीहरूको दैनिक प्रयोग हुने कामकाजी बाटो आसपास होइन ।

खरबारीमा शव फेला पर्नु शंकास्पद रहेको र आमाछोरा हिँड्दै गर्दा लडेको अनुमान गर्ने आधार नदेखिएको डिएसपी थापाले बताए । घटना अनुसन्धान गर्न रिमाका २३ वर्षीय श्रीमान कमललाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको पनि डिएसपी थापाले जानकारी दिए । कमल ज्याला–मजदुरी गर्छन् । रिमा र मुस्कानको शव पोस्टमर्टमपछि शनिबार बेलुकी आफन्तलाई बुझाइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *