काठमाडौँ, ३ कार्तिक–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएको बताउनु भएको छ।
पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित लेखा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो।
अध्यक्ष नेपालले मङ्सिर ७ गते दुर्गा प्रसाईँसहितका व्यक्तिहरूले काठमाडौँमा वृहत् जनप्रदर्शन गर्ने नाममा व्यवस्था र संविधानमाथि धावा बोल्ने प्रयत्न भएकोतर्फ इङ्गित गर्दै मानसिक र भौतिक रुपमा प्रतिवाद गर्न तयार हुनुपर्नेमा जोड दिनुभएको हो।
अध्यक्ष नेपालले आफ्नो पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान २०७२ तथा विभिन्न जनआन्दोलनबाट हासिल सम्पूर्ण उपलब्धिहरूको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन तयार रहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘संविधान र गणतन्त्रको पक्षमा हामी जनताको माझमा जान्छौँ, हामी त्यसका लागि जनताको शक्तिलाई परिचालित गर्न चाहन्छौँ।’
उहाँले ०६२–६३ को जनआन्दोलनअघि पनि जनता राजनीतिक दलको साथमा नरहेको हौवा पिटिएको भन्दै आफूले नेतृत्व गरेको तत्कालीन एमालेले नै जनताको शक्तिलाई गाउँ गाउँमा गएर परिचालन गरेको फलस्वरूप जनआन्दोलन सफल भएको दाबी गर्नुभयो। उहाँले अगाडि भन्नुभयो, ‘फेरि पनि व्यवस्थामाथि चुनौती खडा भए हामी जनतामा जान्छौँ।’
