काठमाण्डौं, ३ कार्तिक–आइसिसी क्रिकेट विश्वकप २०२३ को उपाधि अष्ट्रेलियाले जितेको छ । नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलिया विश्वविजेता बनेको हो ।
भारतले दिएको दुई सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । यो जितसँगै अष्ट्रेलियाले छैटौँपटक विश्वकपको ट्रफी आफ्नो पोल्टामा पारेको छ ।
रंगशालामा उपस्थित एक लाख ३० हजार तथा भारतसहित विश्वभर छरिएका डेढ सय करोडभन्दा बढी दर्शकलाई निराश पार्दै अष्ट्रेलियाले एकतर्फी रुपमा खेल आफ्नो पक्षमा पार्यो ।
आठ वर्षपछि अष्ट्रेलियालाई पुनः विश्वविजेता बनाउने क्रममा ओपनर ट्रविश हेडले उत्कृष्ट इनिङ खेले । दुुई सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा सात ओभरमा ४७ रन बनाउँद तीन विकेट गुमाइसकेको अष्ट्रेलियालाई उनले जितसम्म डोर्याए । जितका लागि दुई रन मात्र बाँकी रहँदा आउट भएका हेडले १५ चौका र ४ छक्काको मद्यतमा एक सय २० बलमा एक सय ३७ रन बनाए ।
यसक्रममा उनले मार्लन लाबुसेनसँग उनले एक सय ९२ रनको साझेदारी गरे । यही साझेदारीले तेस्रोपटक विश्वकप जित्ने भारतको अभियान तुहाइदियो ।
त्यसअघि टस जितेर अष्ट्रेलियाले फिल्डिङ रोज्दै भारतलाई निर्धारित ५० ओभरमा दुई सय ४० रनमै रोकिदियो । लगातार अन्तरालमा विकेट गुमाएपछि भारत जारी प्रतियोगितामा पहिलोपटक अलआउट हुन पुग्यो ।
विश्वकपमा सानदार फर्ममा रहेको भारतीय ब्याटिङ लाइनअप अष्ट्रेलियन बलरले ध्वस्त बनाइदिए । केएल राहुलले ६६, विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए । अन्य ब्याट्सम्यानले अन्तिम उपाधि भिडन्तमा ब्याटबाट योगदान गर्न सकेनन् ।
जारी प्रतियोगितामा यसअघि खेलिएका सबै दश म्याच जितेको भारत अन्तिम खेलमा गृहमैदानमा अष्ट्रेलियन बलर सामु टिक्न सकेनन् । भारतले ११ देखि ५० ओभरसम्ममा जम्मा चार बाउन्ड्री लगाएको थियो ।
मिचेल स्टार्कले तीन, जोस हेजलउड र कप्तान पेट कमिन्सले दुई–दुई तथा ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक–एक विकेट लिए । भारत अन्तिम ओभरको अन्तिम बलमा दुई सय ४० रनमा अलआउट हुन पुग्यो ।
जवाफमा दुई सय ४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाको पनि सुरुवात सुखद हुन सकेन । मोहम्मद सामीले आफ्नो स्पेलको दोस्रो बलमै डेविड वर्नरको विकेट लिँदै भारतलाई सुखद सुरुवात दिए । त्यसपछि जसप्रित बुमराहले लगातारका ओभरमा दुई विकेट लिँदै अष्ट्रेलियालाई ब्याकफुटमा ल्याए ।
तर, अर्का ओपनर हेडले एक इन्डबाट पहिले संयमित हुँदै र पछि आक्रामक ब्याटिङ गर्दै भारतको सपना चकनाचुर बनाइदिए ।
