काठमाडौँ, ४ मंसिर–जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म तथा पद्‍मोदय मोडदेखि सिंहदरबार पश्चिम गेटलगायत ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

यस्तै, सर्वोच्च अदालत हुँदै माइतीघरमण्डलाको चारैतर्फ र माइतीघरमण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्मको क्षेत्रमा पनि आजै (सोमवार) देखि लागू हुने गरी ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको हो।

काठमाडौँ प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम आज काठमाडौँका प्रमुख जिल्ला अधिकारीबाट उक्त आदेश जारी गरिएको जानकारी गराएको छ।

उक्त क्षेत्रमा ५ जनाभन्दा बढी भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न रोक लगाइएको जारी आदेशमा उल्लेख छ।

आदेशमा एक वा सोभन्दा बढी समूहद्वारा एकै मिति, समय र स्थानमा भेला वा जम्मा भई अनशन, धर्ना, घेराउ र विरोध प्रदर्शनजस्ता कार्यक्रम आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने तथा हुलदंगा वा अशान्ति हुन सक्ने भई समग्र रुपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्ने भएकाले निषेधित क्षेत्र घोषणा गरिएको उल्लेख छ।

उल्लिखित स्थान सर्वसाधारण नागरिकको सेवा प्रवाहका लागि प्रयोग हुने मुख्य मार्ग एवम् महत्वपूर्ण प्रतिष्ठानहरुसमेत भएकाले सो क्षेत्रमा रहेका सार्वजनिक सेवा प्रदायक निकायहरूको काम कारबाही, सार्वजनिक सम्पत्ति संरक्षण एवम् सुरक्षामा प्रत्यक्ष नकारात्मक असर पर्न जाने भएकाले आदेश जारी गरिएको पनि जनाइएको छ।

‘अत्यावश्यक एम्बुलेन्स, दमकल तथा सार्वजनिक यातायात अवरुद्ध हुने अवस्था समेतलाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिश समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३क० बमोजिम देहायको क्षेत्रमा आजदेखि ३० दिनसम्मका लागि ५ जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको जनाएको छ’, आदेशमा उल्लेख छ।

यही मंसिर ७ गते एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले एकै समयमा कार्यक्रम गर्न लागेपछि सम्भावित जोखिम रोक्न स्थानीय प्रशासनले उक्त आदेश जारी गरेको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *