पाडाजुङ्गी (मंगलबारे बजार), ११ मंसिर–नेपाली कांग्रेस झापाका पूर्व सभापति तथा लोकतान्त्रिक आन्दोलनका योद्धा झापा, कमल गाउँपालिका-५ मंगलवारे निवासी पूर्णनन्द शर्मा दाहाल (पिएन) को आज सोमबार निधन भएको छ ।
केहिदिन यता अस्वस्थ्य ८८ बर्षिय दाहालको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा निधन आज सोमबार अपरान्ह ४ः३० वजे निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले बताए । सो अस्पतालले दाहालको सवै उपचार निशुल्क गरिदिएको थियो ।
भूमिगत तथा लोकतन्त्र प्राप्तिका सबै किसिमका आन्दोलनका क्रममा पटक-पटक जेलनेल परेका उनी कांग्रेस झापाका पूराना तथा त्यागी नेताका रुपमा परिचित थिए । २०४२ सालमा कांग्रेस झापाको सभापति बनेका शर्मा झापा क्षेत्र नम्बर ५ बाट संसदीय निर्वाचनमा समेत उम्मेदवार भएका थिए ।
पाँच वर्षअघि जीवनसंगीनि गुमाएका दिवंगत दाहालका तीन छोराहरु विनोद, प्रमोद, आमोद र एक छोरी प्रमिला छन् । उनले पार्टीसंगै स्थानीय सामाजिक संघसंस्थाहरुमा समेत योगदान पुरयाँउदै आएका थिए ।
स्वर्गीय दाहालको पार्थिव शरिरलाई भोलि १२ गते मंगलवार दिनको ११ बजे पवित्र कनकाई नदीमा हिन्दु बिधिपूर्वक अन्त्येष्टी गरिने पारिवारिक स्रोतले बताएको छ ।

