दमक, ४ पौष–झापाको दमकमा पौडेल बन्धुहरुले आयोजना गरेको श्रीमद मागवत सप्ताह ज्ञान महायज्ञमा प्राप्त खाद्यन्न सहयोग बाल आश्रमलाई प्रदान गरिएको छ ।
महायज्ञ समापनपछि पनि त्यहाँ विभिन्न दाताहरुबाट प्राप्त भएको चामल, भुजा, तरकारी लगायतका करिब २ क्विन्टल विभिन्न खाद्यन्न सामग्री दमक ९ स्थित दमक बाल आश्रममा आश्रित बालबालिकाहरुका लागि प्रदान गरिएको हो ।
दमक ७ की महिला वडा सदस्य समेत रहेकी इन्दु पौडेल, आयोजक समितिकी रामकुमारी पौडेल, राजेन्द्र पौडेल, चन्द्र पौडेल, सुमन पौडेल लगायतको समुहले आश्रमकी अध्यक्ष मन्धरा चिमरिया पौडेलको उपस्थितीमा आश्रममै पुगेर सो खाद्यन्न सामग्री हस्तान्तरण गरेका हुन ।
दमक ७ स्थित पौडयाल वंशोद्धार केन्द्रिय समितिको आयोजनामा गत मसिंर २७ देखि पुष ४ गतेसम्म सो महायज्ञ सञ्चालन गरिएको थियो ।
पौड्याल वंशोद्धार समितिको निर्माणाधिन भवनको दोश्रो तला निर्माण गर्न सहयोग जुटाउने उद्धेश्यले सञ्चालन भएको महायज्ञको सम्पूर्ण आय व्यय छिटटै औपचारिक रुपमा सार्वजनिक गरिने आयोजक समितिका सहसचिव तथा पौड्याल वंशोद्धार दमक नगर समितिका अध्यक्ष बुद्धिमान पौड्यालले जानकारी दिए ।
