शिबगञ्ज (शिबसताक्षी), ४ पौष–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित वडा कार्यालयले पशुपालक कृषकहरुलाई लक्षित गरेर पशु बीमा कार्यक्रम ल्याएको छ । चालु आर्थिक वर्ष २०८०।८१ को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम वडा स्तरीय योजना अन्तर्गत आर्थिक विकासतर्फ वडावासीका लागि पशु बीमा कार्यक्रम ल्याइएको हो ।
वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार शिबसताक्षी–६ का पशु पालक कृषकहरुका लागि यो कार्यक्रम ल्याएको हो । कार्कीले शिबगञ्जमा यसअघि पनि वडा कार्यालयले कृषकहरुको माग र समस्यालाई मध्यनजर गरी पशु बीमा कार्यक्रम सञ्चालन गरिसकेको बताए ।
२६ मंसिरमा सम्पन्न वडा समितिको बैठकले पशु बीमा कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको वडा अध्यक्ष कार्कीले हाम्रोसरोकारलाई बताए । आज (बुधबार) वडा कार्यालयले सुचना प्रकाशित गरी पशु बीमा कार्यक्रममा सहभागिताका लागि निवेदन पेश गर्न ३० दिनको समय दिएको कार्की बताउँछन् ।
वडा अध्यक्ष कार्कीका अनुसार अघिल्लो आर्थिक बर्षमा पशु बीमा कार्यक्रममा सहभागि हुन नपाएका कृषकहरुलाई यस आर्थिक बर्षको बीमा कार्यक्रममा विशेष प्राथमिकतामा राखिनेछ ।
कृषकहरुलाई निवेदनमा बीमा कार्यक्रममा सहभागि हुनका लागि शिबसताक्षी–६ मा स्थायी बसोबास गरेको प्रमाणपत्र, नागरिकता, मतदाता परिचयपत्र, बसाई सराई आदी पेश गर्नुपर्ने र बीमा गराउन चाहेको पशुहरुको फोटो आवश्यक पर्ने वडा कार्यालयले प्रकाशित गरेको सुचनामा समेत उल्लेख छ ।

